• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बोदेबर्साइन नगरपालिकाको परिषद् सम्पन्न

५२ करोडको अनुमानित बजेट प्रस्तुत
बोदेबर्साइन नगरपालिकाको परिषद् सम्पन्न

राजविराज, २४ पुस । सप्तरीको बोदेवर्साइन नगरपालिकाको पहिलो गाउँ परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ को संशोधित अनुमान र आगामी आर्थिक वर्ष २०७५/०७६ कालागि प्रस्तावित आय–व्यय सार्वजनिक गरिएको छ ।
स्थानीय चन्द्र माध्यमिक विद्यालयमा मङ्गलवार आयोजित एक समारोहका बिच नगर प्रमुख आतेश कुमार सिंहले अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेका हुन् । नेपाल सरकारबाट राष्ट्रिय बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध श्रोत अनुमान विवरणका आधारमा आन्तरिक आय तथा प्रशासनिक चालु अनुदान निसर्त तर्फ १० करोड १५ लाख ९७ हजार ६ सय ७० रुपैया, पुँजीगत निसर्त नेपाल सरकारको तर्फबाट १२ करोड ५८ लाख ८ हजार ३ सय ३० रुपैया र ससर्त तर्फ चालु तथा पुँजीगत १५ करोड ९३ लाख ५५ हजार, बाह्य पुँजीगत तर्फबाट १३ करोड ४९ लाख ५२ हजार ९ सय १ रुपैया ९ पैसा गरि ५२ करोड ५७ लाख १३ हजार ९ सय १ रुपैया ९ पैसाको कुल आय अनुमान गरि आर्थिक वर्षकोलागि खर्च प्रस्ताव प्रमुख सिंहले पेश गरेका छन् ।
आगामी आवको लागि आन्तरिक आय तथा प्रशासनिक चालु अनुदान निसर्त तर्फ रु. ११ करोड १७ लाख ५७ हजार ४ सय ३७ रुपैया, पुँजीगत निसर्त नेपाल सरकारको तर्फबाट १३ करोड ८३ लाख ८९ हजार १ सय ६३ रुपैया र ससर्त तर्फ चालु तथा पुँजीगत १७ करोड ५२ लाख ९० हजार ५ सय, बाह्य पुँजीतर्फबाट १२ करोड ७९ लाख ८० हजार ६ सय रुपैया गरि जम्मा ५५ करोड ७८ लाख १७ हजार ७ सय रुपैयाको कुल आय अनुमानित गरि आगामी आर्थिक वर्षकोलागि खर्च प्रस्ताव प्रमुख सिंहले प्रस्तुत गरेका छन् ।
सोही समारोहमा प्रमुख सिंहले कृषि, सडक, यातायात, वातावरण, शिक्षा, स्वास्थ्य, समाजिक नीति, महिला, बालबालिका, दलित, आदिवासी, जनजाती, मधेशी, पिछडा वर्ग, अपांगता वर्ग, ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, सहकारी तथा उद्योग, सञ्चार क्षेत्र एवं पत्रकारिता विकास, पशु, तथ्यांक एवं सूचना विकास, विपद व्यवस्थापन, जलश्रोत तथा भूमि लगायतका विषयहरुमा समेत नयाँ एवं महत्वाकांक्षी योजना उनले प्रस्ताव गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर ४ का सांसद एवं युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले यो क्षेत्र अहिले पनि विकासको दृष्टिकोणले पछाडि परेको भन्दै यसको समूचित विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बोदे बर्साइन नगरपालिकालाई विकसित गरि समृद्ध नगरपालिकाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिँदै जनप्रतिनिधि तथा स्थानीय वासिन्दालाई समेत जिम्मेवार भएर आ–आफ्नो तर्फबाट भूमिका निभाउन उनले आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य अभिषेक यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता अनिरुद्ध प्रसाद सिंह यादव, पूर्व सांसद सुरेन्द्र यादव, सुर्यनाथ यादव, लक्ष्मी चौधरी, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा समेतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा राजविराज नगरपालिकाका अधिकृत प्रफुल्ल कुमार श्रेष्ठसहितका व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवले गरे ।