राजविराज, २४ पुस । सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा नम्वर–५ स्थित डोम बस्तीमा मैथिली फिल्म ‘राज्जा रानी’को समूहद्वारा जाडो छल्न लुगा वितरण गरिएको छ ।
भोर नामक सामाजिक संस्थाद्वारा सिरक, ओढनी, ओछ्याउने म्याट र बच्चाहरुकालागि टोपी लगायतका सामग्रीहरु वितरण गरिएको हो । विगत केही दिनयताको शितलहर कारण बस्तीका डोम समुदायको दिनचर्या अत्यन्तैकष्टकर बन्न पुगेको थियो ।
विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा पुगेको टोलीले बस्तीमै पुगेर राहत सामग्री वितरण गरेका छन् । उक्त राहत सामग्री नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, ‘राज्जा रानीकी गायिका अन्जु यादव समेत हस्तान्तरण गरेका छन् ।
लुगाको अभावमा शितलहरमा कष्टकर जिवन बिताउँदैआएका दश परिवार डोम समुदायले राहत सामग्री पाएपछि खुशी व्यक्त गरेका छन् ।
यसैबिच बालविवाह र दाइजो विरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले जानकारी दिएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा.लि.द्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र गत पुस २१ गतेदेखि देशैभरि प्रदर्शनमा रहेको छ ।
