राजविराज, २४ पुस । शितलहरका कारण सप्तरीमा मानवीय क्षति हुनुकासाथै जनजिवन कष्टकर हुनथालेपछि सरोकारवालाहरुले आ–आफ्नो स्थानबाट राहत तथा व्यवस्थापनमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
दैवी प्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा सोमवार सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । शितलहरबाट जोगाउन र थप मानवीय क्षति हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्वन्धित निकायहरुका पदाधिकारीहरुलाई आ–आफ्नो क्षेत्रमा गम्भीरताका साथ लाग्न आग्रह गरेका छन् ।
शितलहरबाट जोगिन विभिन्न संस्थाहरुले गरेको सहयोगको अवस्थाबारे सरोकारवाला निकायका जिल्ला प्रमुखहरुले बैठकमा जानकारी गराएका छन् । वैठकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रतिनीधि, जिल्लाको १८ वटै स्थानिय तहका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला रेडक्रसका सभापति, नागरिक अधिकारकर्मी, पत्रकार समेतको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले जाडोले पीडित भएका दलित र विपन्न समूदायका नागरिकहरुका लागि तत्काल न्यानो कपडा, कम्वल, दाउरा तथा आवश्यक उपचारसहितका स्वास्थ्यकर्मीहरुको टोली पठाउन निर्देशन समेत दिएका छन् । हालसम्म जिल्लाको शम्भुनाथ, खडग, कञ्चनरुप, डाकनेश्वरी र राजविराज नगरपालिका तथा छिन्नमस्ता, तिलाठी कोइलाडी, अग्निसाईर कृष्णा सवरण र महादेवा गाउँपालिकामा गरी १७ जनाको शितलहरका कारण मृत्यु भएको छ ।