• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रधानमन्त्री र फोरम अध्यक्ष बीच भेटवार्ता

शीतलहर पीडितको प्रभावकारी व्यवस्थापन गर्न ध्यानाकर्षण
राजविराज बचाउन बाइपास हुलाकी सडक निर्माण गर्न आग्रह
प्रधानमन्त्री र फोरम अध्यक्ष बीच भेटवार्ता

नयाँ सरकार गठनको बाटो खोल्न सुझाव

काठमाडौं २४ पुस । प्रधानमन्त्री शेर बहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच सोमवार भेटवार्ता भएको छ ।
शीतलहर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने लगायत समसामयिक राजनीतिक विषयमा वार्ता भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ भएको द्विपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन् ।
सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लुगा, आगो बाल्ने दाउरा, औषधी उपचार लगायत राहत सामाग्रीहरु तत्काल पुर्याउन उनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराजमा हुलाकी राजमार्गको डाइभर्सन
तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निस्किने भएकोले बजारलाई सुरक्षित राख्दै निर्माण कार्य अगाडि बढाउन फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेउबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन समेत दिएका छन् ।
नयाँ सरकार गठनको बाटो खोल्न यादवको सुझाव
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार र प्रदेश सभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्यगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । देशलाई यथाशीर्घ निकास दिनेगरी पहल थाल्न देउवालाई सुझाव दिएको अध्यक्ष यादवले जानकारी दिएका छन् ।
राजनीतिक गतिरोधले गर्दा नयाँ सरकार गठन, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको गठन र समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको चयन लगायतमा ढिलाई भएकोले मुलुकलाई चाडै निकास दिन प्रधानमन्त्रीलाई सुझावदिएको यादवले जानकारी दिएका छन् । भेंटवार्तामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस उप–सभापति रामचन्द्र पौडेल र महेश आचार्य सहभागी थिए ।