राजविराज, २३ पुस । विगत एक सातायताको बढ्दो चिसोका कारण सप्तरी जिल्लाको जनजिवन कष्टकर हुनुका साथै मान्छे मर्ने क्रम बढेको भन्दै प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन् ।
ग्रामिण क्षेत्रमा औषधीसहितको स्वास्थ्यकर्मीको टोली, सार्वजनिक स्थलहरुमा काठ दाउराको व्यवस्थापन गरि आगो बाल्ने कार्य सरकारी स्तरबाट हुनुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन उनले माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय मार्फत पठाईएको ज्ञापन पत्रमा गत असार साउनमा गएको विनासकारी बाढीको पीडावाट उम्किन नपाउदै एकसाता यताको शीतलहरले सप्तरीवासी नराम्ररी प्रभावित भएको जनाईएको छ ।
‘अत्यधिक रुपमा जाडो बढ्दै जानु तथा गरिब, दलित र विपन्न परिवारमा न्यानो कपडाको अभावले जाडो छल्न मुस्किल भईरहेको यथार्थतासँगै मेहनत मजदुरी गरि गुजारा गर्नेहरुका लागि अहिले संकट उत्पन्न भएको छ’ ज्ञापन पत्रमा अगाडि भनिएको छ ‘अत्यधिक शितलहरका कारण सप्तरी जिल्लामा मात्र शनिवार सम्म कम्तीमा ९ जनाको कठ्याग्रिंएर मृत्यु भईसकेको छ, मृत्यु भएका सबैजनाको परिवार अति नै विपन्न छन्, जाडोका कारण कैयौं विरामी परेका छन् ।’ खासगरि बृद्धबृद्धा र बालबालिकामा निमोनिया, कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, दम लगायतका समस्या देखिन थालेको भन्दै शितलहरका कारण जिल्लामा अहिले घर वाहिर निस्कन समस्या भएको जनाईएको छ ।
कैयौं दिनदेखी घाम लाग्न नसकेको भन्दै प्रकृतिको यो प्रकोपवाट सप्तरी सहित मधेशका जिल्लाका नागरिकको दैनिकी कष्टपुर्ण बन्दै गएको ज्ञापन पत्र मार्फत उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
जनताको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको सुविधाको गारेन्टी सरकारले गर्ने कुरा संविधानमै उल्लेख भएको विषय भएको भन्दै शितलहरको यत्रो कहरका वावजुद सप्तरीका प्रभावित बस्तीमा अझैं पनि राज्यको जिम्मेवार उपस्थिति हुन नसकेको ज्ञापन पत्रमा उल्लेख छ । ‘जनतालाई सुरक्षित पार्न सकिए मात्र राज्यको उपस्थितिलाई बलियो मान्न सकिन्छ, त्यसर्थ पछिल्लो समय बढेको जाडोवाट बच्नकालागि गरिब, दलित र विपन्न बस्तीमा तत्काल न्यानो लुगाको व्यवस्था गर्न माग गर्दछु’ अगाडि भनिएको छ ‘जाडोका कारण मेहनत मजदुरी गर्न नपाई भोकभोकै बस्न विवश परिवारलाई उचित राहत प्रदान गर्न समेत आग्रह गर्दछु ।’
राष्ट्रिय
प्रदेश सभा सदस्य शैलेन्द्र साहले पठाए प्रधानमन्त्रीलाई ज्ञापन–पत्र
‘भोकै बस्न विवश परिवारलाई उचित राहत उपलब्ध गराईयोस्’