राजविराज, २३ पुस । विगत एक सातायताको बढ्दो चिसोका कारण सप्तरी जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
पछिल्लो पटक आइतवार मात्रै कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्वर– २ बरमझियाका ५५ वर्षिय बेचन शेख र वडा नम्वर ७ का ६१ वर्षिय उत्तम मरिक रहेका छन् । यसअघि शनिवार कञ्चनरुप र डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णा सवरण र तिलाठी कोइलाडी गाउँपालिकामा गरी एक बालकसहित ७ जनाको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, खडक नगरपालिका–८ मुसहर्नियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका–४ का ६० वर्षिय लखन ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका–७ का ३६ वर्षिय शिवु मण्डल, डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय झौली यादवको मृत्यु भएको छ ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षिय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षिया नाजो बेगम र वडा नम्वर १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षिय रामदयाल राम, ३६ वर्षिय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।
सप्तरीमा दलित र विपन्न समुदायका व्यक्तिहरु चिसोबाट बढी प्रभावित भएका छन् । जसमा बालबालिका, वृद्ध र बिरामी अत्यधिक रहेका छन् । दलितमध्ये पनि डोम र मुसहर समुदाय चिसोको चपेटामा परेका छन् ।
शितलहरले जनजीवन थप कष्टकर हुँदै गएपछि स्थानीय प्रशासनले केही राहत वितरण समेत वितरण सुरु गरेका छन् । यद्यपी स्थानीय तहले हालसम्म पनि पर्याप्त दाउरा र चिसोबाट बच्ने वैकल्पिक व्यवस्था गर्न नसकेकोे पीडितहरुको गुनासो छ ।