काठमाण्डौ, २३ पुस । तराई मधेश राष्ट्रिय परिषदको आह्वानमा तराई–मधेश आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य–तथ्य छानबिन गर्न गठित उच्च स्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाण्डौमा शनिवार प्रदर्शन भएको छ ।
काठमाण्डौको माइतीघर मण्डलामा आयोजना गरिएको दवाबमुलक प्रदर्शनमा आयोजना गरी उच्चस्तरीय छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिले बुझाएको प्रतिवेदनले के कस्तो तथ्यहरु पता लगाएको र सो को कार्यान्वयण गर्नका लागि के के सिफारिस गरेको छ भन्ने जानकारी पाउनु पीडितलगायत सम्पूर्ण नागरिकको अधिकार भएको भन्दै अविलम्ब प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।
धेरैजसो आन्दोलनमा सहभागी नभए पनि राज्य पक्षबाट उनीहरुको घर र बजारमा अन्धाधुन्ध गोली प्रहार गरी अध्यधिक बल प्रयोगबाट ५० भन्दा बढी व्यक्तिहरुले ज्यान गुमाएको भन्दै उक्त घटनाको छानबिनका लागि नेपाल सरकारले सर्वोच्च अदालतको पुर्व न्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त प्रतिवेदन अविलम्व सार्वजनिक गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।
करिब दुई सय जनाको सहभागिता रहेको सो प्रदर्शनमा अधिकारकर्मी डा. सुन्दरमणि दिक्षित, अधिवक्ताहरु दिपेन्द्र झा, सुरेन्द्र महतो र सुनिल रंजन शिंह, डेनमार्ककालागि पूर्व नेपाली राजदूत विजयकान्त कर्ण एवं आयोजक संस्थाको तर्फबाट काशिन्द्र यादव, आनन्द गुप्ता र सरोज रायलगायतले मनतव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन आलोक सागरले गरे ।
सो प्रतिवेदन सार्वजनिक नहुन्जेल आयोजक तथा सहभागी वक्ताहरुहरुले बिभिन्न दबाबमूलक कार्यक्रमहरु गरिरहने चेतावनी दिएका छन् । प्रतिवेदन सार्वजनिक भए पश्चात पनि कार्यान्वयनका गराउन समेत आफुहरुले दवाब दिईरहने परिषद्का काशिन्द्र यादवले जानकारी दिएका छन् ।
्