• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा ब्यवस्थापनबारे अन्तरक्रिया

सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा ब्यवस्थापनबारे अन्तरक्रिया

राजविराज, २२ पुस । नेपाल शिक्षक महासंघ सप्तरीद्वारा जिल्लाका स्थानीय तहका प्रमुख, उप–प्रमुख, कार्यकारी अधिकृत, शिक्षा कार्यालयका पदाधिकारी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
नयाँ संरचना अनुसार प्रस्तावित कानुन र स्थानीय तह शिक्षामा अन्यौल देखिएपछि निराकरणकालागि महासंघले शनिवार जिल्ला समन्वय समितिको सभा कक्षामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । सरोकारवालाको उपस्थितिमा ‘सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा ब्यवस्थापनमा स्थानीय तह र नेपाल शिक्षक महासंघ विच सहकार्य सम्वन्धि अन्तरक्रिया’ कार्यक्रम आयोजना गरिएको छ ।
वक्ताहरुले सार्वजनिक शिक्षाको सुधार विना संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य निर्माण सम्भव नभएकाले सवैको सोच, ब्यवहार र कार्यशैलीमा परिवर्तन हुनु पर्नेमा जोड दिए । कार्यक्रम आयोजक नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर कुमार मण्डलले कार्यक्रममा स्थानीय तह र सरोकारवालाहरुको सहभागितामा शैक्षिक सुशासन स्थापित गर्न १९ वुँदे सुझाव र ध्यानाकर्षण पत्र प्रस्तुत गरे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले शैक्षिक गुणस्तरमा वृद्धि तथा समय सापेक्ष शैक्षिक ब्यवस्थापनका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । राजविराज नगरपालिकाका मेयर शम्भु यादवले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(ज) मा रहेको शिक्षा सम्वन्धि कार्यक्षेत्रलाई कार्यान्वयन गर्दा सरोकारवाला सवैको रायसुझाव अनुसार अघि वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोइलाडि गाउँपालिकाका प्रमुख सतिस सिंह, कृष्णासवरण गाउँपालिकाका प्रमुख पर्शुराम चौधरी, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, नेपाल शिक्षक संघका अध्यक्ष पर्शुराम यादव, संघका केन्द्रिय सदस्य दिनेश कुमार यादव, नेपाल शिक्षक महासंघकी उपाध्यक्ष निलम मिश्रालगायतले मन्तव्य व्यक्त गरे ।