राजविराज, २० पुस । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले त्रुटीपूर्ण संविधान सच्याउन आफुहरुले माग गर्दा बेवास्ता गर्ने दलहरु आफैले खनेको खाडलमा फँसेको बताएका छन् ।
फोरम जिल्ला कार्य समिति सप्तरीद्वारा राजविराजमा बिहीबार आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । वर्तमान संविधान त्रुटीपूर्ण रहेकोले भिषण आन्दोलन गर्दा पनि बेवास्ता गर्ने कांग्रेस, एमाले र एमाले अहिले आफैले खनेको खाडलमा खसेको छ’ अध्यक्ष यादवले भने ‘अब त संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा ती दलहरुले बल्ल स्वीकार गरेको छ, संशोधन गर्नु बाहेक विकल्पै छैन ।’

संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आएको यतिका दिन वितिसक्दा पनि सरकार गठन लगायतका प्रक्रियाहरु अवरुद्ध भएको उनले बताए । संघीय समाजवादी फोरमले अघि सारेको संविधान संशोधनलगायतका माग जायज रहेको भन्दै फोरमकै बाटोमा अन्य दलहरु समेत आउन बाध्य भएको अध्यक्ष यादवले बताए । उनले अन्य मुलुकहरुमा निर्वाचनपछि मत गणना सम्पन्नको घोषणा हुने वित्तिकै बहुमत प्राप्त गरेका दलहरुको नेता स्वतः प्रधानमन्त्री तथा राष्ट्रपति हुने चलन रहे पनि नेपालमा जारी भएको संविधानकै त्रुटि कारण एक महिना वित्न लाग्दा पनि सरकार गठनमा आलटाल भईरहेको बताए ।
सबभन्दा बढी सिट जितेको अहंकारमा प्रधानमन्त्री बन्न हतार गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैले बनाएको संविधानका व्यवस्था तथा प्रावधानहरुबारे देखाएपछि खाली खुट्टा फर्किन बाध्य भएको उनले चर्चा गरे । संसारको कुनै पनि देशमा तल्लो सदन र माथिल्लो सदनलाई जोडेर सरकार गठन गर्ने र परिभाषित गर्ने व्यवस्था नभएको बताउँदै उल्टो दिशाबाट हिडेका कारण देश झन संवैधानिक संकटमा फँसेको अध्यक्ष यादवले बताए । शीर्ष दलका नेताहरुलाई राजनितिक शास्त्रको शब्दकोश अध्ययन गर्न सुझाव दिँदै सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले शीर्ष नेताहरुको गलत चिन्तन र दमनकारी मानसिकताकै कारण त्रुटिपूर्ण संविधान जारी भएको बताए ।
कार्यक्रममा फोरम नेपालकी राष्ट्रिय उपाध्यक्ष एवम् तराई मधेश प्रदेश प्रमुख रेण कुमारी यादवले विभिन्न पार्टीमा रहेका व्यक्तिहरुले समेत मधेशको पक्षमा मतदान गरेर मधेशको मुद्दा जायज भएको कुरालाई प्रमाणित गरेर देखाएको बताए । मधेशी जनताको संघर्ष र बलिदानीलाई खेर जान नदिन मधेशी जनताको हक अधिकार सुनिश्चित नभएसम्म संघर्ष समेत चलिरहने पूर्व शिक्षामन्त्री समेत रहेकी यादवले बताईन् ।
पार्टीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा फोरम नेपालका राजनीतिक समिति सदस्य एवम् प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, सप्तरी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव, प्रदेश सभा सदस्य अभिशेक यादव, पार्टीका केन्द्रीय नेताहरु अनिरुद्ध प्रसाद सिंह, जगदेव यादव, युसुफ अलि, गाउँपालिका अध्यक्ष दिपक कुमार यादव,‘टुटुबाबु’लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन पार्टीका जिल्ला सचिव केदार यादवले गरे ।