राजविराज, १४ पुष । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति सप्तरीको २८ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
राजविराज स्थित आफ्नै कार्यालयमा आयोजित एक समारोहका बिच प्याब्सनको साधारण सभा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष पञ्चदेव यादवको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कोषाध्यक्ष देवकान्त चौधरीले आर्थिक प्रतिवेदन तथा साङ्गठनिक प्रतिवेदन सचिव सञ्जय कुमार शर्माले प्रस्तुत गरे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्यद्वय डा. कामानन्द देव, निर्जला कोइराला, प्रदेश नम्वर २ का उपाध्यक्ष रिमा झा, ह्याप्पील्याण्ड सेकेण्ड्री स्कूलका प्रिन्सिपल विजयानन्द झालगायतले शुभकामना मन्तव्य व्यक्त गरे । स्वागत मन्तव्य कार्य समितिका उपाध्यक्ष देबानन्द चौधरीले व्यक्त गरे ।