राजविराज, १२ पुस । मंसिर २१ गतेदेखि सञ्चालनमा आउने लक्ष्य रहेको राजविराज विमानस्थलको निर्माण कार्य शीतलहर र बन्द हड्तालका कारण अझैं पुरा हुुन सकेको छैन ।
वि.सं. २०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यो विमानस्थलको पक्की धावनमार्गको निर्माण कार्य पुरा हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । कच्ची धावनमार्गका कारण नियमित रुपमा विमान नचलेपछि विगत ५८ वर्षदेखि विमानस्थलमा पक्की धावनमार्ग नभएका कारण नियमित उडान सञ्चालन हुन सकेको थिएन । 
कान्छाराम, रमण र देव एन्ड शायर जेभीले विमानस्थल निर्माण कार्यको ठेक्का लिएपछि २०७३ असोजदेखि निर्माण कार्य थालिएको थियो । उक्त कम्पनीले पक्की धावनमार्गको लम्बाइ १ हजार ५ सय मिटर र ३० मिटर चौडाइ छ । ६० मिटर चौडाई र ९० मिटर लम्बाईको एप्रोन निर्माण गर्ने लक्ष्य रहेको छ । सम्झौता अनुसार १ सय ५ मिटर लामो र २० मिटर चौडाईको ट्याक्सी वे समेत निर्माण गर्न लक्ष्य राखिएको छ । कुल २६ करोड रुपैयाँमा ठेक्का लिएको उक्त कम्पनीले मंसिरभित्रै विमानस्थलको पिचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
निरन्तरको वर्षा, आन्दोलन र शीतलहरका कारण काम गर्न ढिलाई भएको ठेकेदार कम्पनीका इन्जिनियर जितेन्द्रकुमार यादवले जानकारी दिएका छन् । पिचिङ्गका लागि जेठसम्मको समय उपयुक्त हुने भएकाले तत्कालीन समयमा तीव्र गतिमा काम अगाडि बढाए पनि मौसम प्रतिकूलताका कारण पक्की निर्माण कार्यमा समस्या भएको उनले बताए ।
‘अहिलेको तापक्रम कम रहेकोले पिचिङ्ग कार्य प्रभावित भएको छ’ ईन्जिनियर यादवले भने ‘न्यूनतम २० डिग्रीभन्दा कम तापक्रममा पिचिङ गर्दा भरपर्दो हुदैन, चाँडै बिग्रिने सम्भावना देखिएकोले तत्कालकालागि यो काम प्रभावित भएको छ ।’ केही दिन यता सप्तरी जिल्लाको तापक्रम १५ डिग्री सेन्टिग्रेड भन्दा कम रहने गरेको जानकारी दिँदै उनले भने ‘ मौसमले साथ दिए फागुनको अन्त्यसम्म सबै काम सकिन्छ ।’
उनका अनुसार पक्की धावनमार्ग निमार्णका लागि हालसम्म डबल लेयर बेसको काम सम्पन्न भइसकेको छ । 
यो विमानस्थलमा वि.सं.२०५२ साल बैसाख यता नियमित उडान हुन सकेको छैन । यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएको थियो । दुई दिने उडान पनि बन्द भएपछि सप्तरीसहित आसपासका जिल्लाका यात्रुहरु २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन् ।
विकास निर्माणका दृष्टिकोणले राजविराज विमानस्थल सञ्चालनमा आउनु अति आवश्यक रहेको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले बताए । बुधवार विमानस्थलको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी विमान सेवा ल्याउनुपर्ने बताए ।
सुस्त गतिमा निर्माण भईरहेको भन्दै जनतामा व्यापक गुनासो आएकोले आफुसहित पत्रकारहरुको टोलीले स्थलगतै अनुगमन गर्न आएको उनले बताए । हालसम्म भएका कामहरु सन्तोषजनक देखिए पनि निर्माण कार्यमा ढिलाई देखिएकोले अविलम्ब काम सुचारु गर्न उनले सम्वन्धित निकायसँग ध्यानाकर्षण गराएका छन् ।
विमानस्थलकालागि ईटहरी विष्णुपुर निवासी रुद्रनारायाण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका थिए । राजविराज विमानस्थल नाम रहे पनि सरकारले हाल परिवर्तन गरेर ’गजेन्द्रनारायण सिंह विमानस्थल’ नामांकन गरेका छन् । विमानस्थलमा कार्यालय प्रमुख, कार्यालय सहयोगी र २ चौकीदार गरी चार ४ कर्मचारीको दरबन्दी छ । प्रमुख र कार्यालय सहयोगी विराटनगर विमानस्थलमा काजमा छन् भने २ चौकीदार विमानस्थलमै कार्यरत रहेको जनाईएको छ ।
राष्ट्रिय
राजविराज विमानस्थलको निर्माण कार्य सुस्त
फागुनभित्र सकिने कम्पनीको दावी