राजविराज, पुस १० गते । प्रदेश नम्वर २ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले प्रहरी र नागरीक विच असमझदारी बढ्दा अपराध न्यूनिकरणमा समस्या आउने भन्दै प्रहरी संगठन नागरिकमैत्री भएर अगाडि बढेको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा सोमबार नवनिर्मित ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन गर्दै उनले नागरिकको सहयोग बिना प्रहरीको एकल प्रयासले मात्र समाजमा शान्ति सुब्यवस्था र अपराध नियन्त्रण न्यूनिकरण सम्भव नभएकाले प्रहरी संगठनलाई नागरीकमैत्री बनाई अघि बढिरहेको दावी गरे । प्रहरीले जनतासँग सहकार्य गरेर अघि वढिरहेको अवस्थामा स्थानीयले देखाएको उदारता र सहकार्यले सेवा अझ चुस्त दुरुस्त र प्रभावकारी बनाउन ठुलो मद्दत मिलेको वताए ।
उनले प्रदेश नं. २ मा स्थानीय तह र त्यसपछि प्रदेश र प्रतिनिधि सभा निर्वाचन जसरी शान्तिपुर्ण रुपमा सम्पन्न भयो त्यसको श्रेय स्थानीयवासीलाई नै जाने चर्चा गर्दै जनताको सहयोग विना प्रहरी सफल हुन नसक्ने वताए । अपराध नियन्त्रणका लागि जनताले प्रहरीलाई गर्ने सहयोगको ऋण प्रहरीले आफनो ब्यवहार, आचरण र छिटोछरीतो सेवा दिएर तिर्नुपर्ने कायस्थले बताए ।
यसअघि प्रमुख अतिथी अतिरिक्त महानिरिक्षक कायस्थले कञ्चनरुप नगरपालिकामा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा नव निर्मित ईलाका प्रहरी कार्यालय भवन तथा स्थानीयवासी र प्रहरीको जनश्रमदानवाट निर्माण गरिएको ट्राफिक प्रहरी पोष्टको समेत उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरी सेवा चुस्त, दुरुस्त र प्रभावकारी वनाउन नेपाल प्रहरी प्रयासरत रहेको चर्चा गर्दै जनताको साथ लिएर समाजमा शान्ति सुरक्षा कायम गर्न आफुहरु लागि रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष सबिता कायस्थ, निमित्त प्रमुख जिल्ला अधिकारी अमर वहादुर खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गा, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, राष्ट्रिय अनुसन्धानका उप निर्देशक देवराज लिम्वु, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी रामाधार यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास लगायतको सहभागिता थियो ।
ईप्रका कञ्चनपुरको नवनिर्मित भवनमा मुल्य अभिवृद्धि कर सहित १ करोड १८ लाख ६४ हजार ८ सय ७७ रुपैँयाको लागतमा निर्माण भएको सो अवसरमा प्रहरी निरीक्षक एवम् ईन्जिनियर निरन्जनकुमार सिंहले जानकारी दिए । १० कठ्ठा १५ धुर जग्गामा निर्माण भएको प्रहरी भवनमा कार्यालय, आवास, शौचालय, सभा कक्ष तथा महिला र पुरुषका लागि छुट्टै हिरासत कक्ष गरी १३ कोठा रहेको छ ।
सोही कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट भवन निर्माण कार्यमा सहयोग गर्ने स्थानीय वासिन्दा तथा ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।