राजकुमार पासवान
कञ्चनपुर, ६ पुष । सप्तरीको प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का नवनिर्वाचित सांसद डा.सूर्यनारायण यादवले दलित समुदाय सामाजिक रुपमा अपहेलित रहेको भन्दै जीवनस्तर उकास्नकालागि आफुहरु विभिन्न कार्यक्रम आयोजना गरिने बताएका छन् ।
सोमवार स्थानीय सञ्चारकर्मीहरुसँगको कुराकानीमा नवनिर्वाचित सांसद डा.यादवले यस्तो कुरा बताएका हुन् । जनताले अपार माया र सम्मान गर्दै अत्यधिक मतले विजयी गराएको बताउँदै उनले भने ‘दलित तथा गरिव समुदायहरुलाई खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न व्यक्तिगत र संस्थागत रुपमा हमेसा सहयोग गर्न तयार रहन्छु ।’
एक अर्को प्रसङ्गमा बालरोग विशेषज्ञ समेत रहेका सांसद डा. यादवले संसदीय कोषको रकम, सरकारी तथा गैरसरकारी दातृ निकायसँग समन्वय गरी सुविधा सम्पन्न बाल अस्पतालको कामलाई प्राथमिकतामा राखेर गर्ने बताउँदै उनले भने ‘यस क्षेत्रमा बाल अस्पताल स्थापना गर्ने प्रतिवद्धता चाडै पुरा गर्छु ।’
देश संक्रमणकालबाट गुज्रेको र विकास निर्माण कार्य पनि तराई–मधेश भन्दा पहाड–हिमाल बढी भएको बताउँदै यादवले मधेशको एक मात्र हुलाकी राजमार्गलाई प्राथमिकतामा राखेर मधेस सरकारले काम गर्ने समेत बताए । राज्य पक्षको मधेशप्रति हेर्ने नजरिया समेत फरक रहेकोले विकास निमार्णकालागि थोरै बजेट दिएको बताउँदै सांसद यादवले भने ‘अब स्थानीय चुनाव सम्पन्न भई स्थानीय सरकारको स्थापना भएकोले विकास निमार्ण कार्यले तिब्रता लिनेछ ।’ विकास निर्माण कार्यमा सबै पक्षको साथ जरुरी रहेकाले यस निर्वाचन क्षेत्र अन्तर्गतका गाउँपालिका, नगरपालिका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, बुद्धिजिवी कर्मचारीहरुलाई सहयोग गर्न सांसद यादवले आग्रह गरे ।
यता सप्तकोशी नगरपालिकाको त्रियुगा नदिदेखि कंकालिनी–हनुमाननगर नगरपालिकाको रम्पुरा–मल्हनिया लगायत भारतीय सिमावर्ती क्षेत्रसम्मका जनता कोशी टप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्नाबाट दिनहँु पीडित भईरहेकोले हात्ती आंतक समस्यालाई केन्द्रीय सरकार सरकार समक्ष पुप्याउने र समस्या समाधान भएन भने आफु समेत जनताको साथ लिएर आन्दोलनमा जाने बताए । आफूलाई निर्वाचित गराउने सम्पुर्ण मतदाता, मधेश गठबन्धनका नेता, कार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।