राजविराज, ५ पुस । सप्तरी क्षेत्र नम्वर–२ (१)का प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले सडक संघर्षकै क्रममा जनताले आफुहरुलाई अधिकारकालागि संघर्ष गर्न विजयी गराएको बताएका छन् ।
चित्रगुप्त सेवा समिति सप्तरीले बुधबार राजविराजमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य साहले भने ‘सडक संघर्षकै क्रममा जनताले हामीलाई थप संघर्ष गर्नकै लागि विश्वास गरेर जिताएकोले मधेशी, आदिवासी, दलित, जनजाती, अल्पसंख्यक लगायत पछाडि पारिएका समुदायको अधिकारको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहन्छ ।’
कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले आफुहरु विजयी भए पनि सपथ–ग्रहणको विषयमा समेत अन्यौलता रहेको बताए । संघीयताकालागि कठोर संघर्ष भए पनि खस शासकवर्गले अझंै संघीयता स्वीकार गर्न नचाहेको बताउँदै उनले भने ‘संघीयता हाम्रो मुद्दा हो, जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि यसलाई स्थापित गरेरै छाड्छौं ।’ सप्तरी जिल्ला विकास निर्माणको दृष्टिकोणले धेरै पछाडि रहेको भन्दै संघर्षसँगै विकास र समृद्धिलाई समेत आफुले प्राथमिकताका साथ अगाडि बढाउने तथा प्रदेश नम्वर २ लाई समृद्ध बनाउने आफ्नो संकल्प रहेको उनले बताए ।
क्षेत्र नम्वर–२(२) का प्रदेश सभा सदस्य मनिष कुमार सुमनले मधेशी जनताको चाहना र शहिदको बलिदानीलाई खेर जान आफुहरु संघर्षरत रहने बताए । आफुहरु न्याय र समानताकालागि संघर्षरत रहेको भन्दै आमजनताले आफुमाथि गरेको विश्वासलाई गर्व गर्ने लायकको बनाएर देखाउने बताउँदै उनले भने ‘जस्तोसुकै परिस्थितिमा पनि अधिकारप्राप्ति नभएसम्म आन्दोलन जारी रहन्छ ।’
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजविराज नगरपालिकाको विकासमा आफु इमान्दारिताकासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरको विकासकालागि सबै पक्षको सल्लाह, सुझाव तथा सहयोग लिएर अगाडि बढ्ने उनले बताए ।
चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शैलेन्द्र प्रसाद साह, मनिष कुमार समुन र राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा आयोजक संस्थाका पूर्व अध्यक्ष रामकृष्ण दास, स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक हरिमोहनलाल कर्ण, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन चित्रगुप्त सेवा समितिका सतिश कुमार दत्तले गरे ।