राजविराज, ३ पुष । गत मंसिर २१ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका केही बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ ।
उम्मेदवारी दिएका १ सय मध्ये ७४ प्रतिशत भन्दा बढी उम्मेदवारको जमानत जफत भएको हो । कुल खसेको सदरमतको १० प्रतिशत नल्याउने उम्मेदवारको जमानत जफत हुने नियमानुसार प्रतिनिधि सभातर्फ ५२ जना उम्मेदवार रहेकोमा ३८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रदेश सभातर्फ १ सय उम्मेदवार रहेकोमा ७५ उम्मेदवारको जमानत जफत भएको तथ्याङ्कले देखाएको छ ।
जमानत जफत हुनेहरुमा अधिकांश साना दलका र स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ नयाँ शक्ति, नेपाल मजदुर किसान पार्टी, नेकपा माक्र्सवादी, विवेकशिल साझा पार्टी, एकिकृत राप्रपा (राष्ट्रवादी), राप्रपा तथा तिन स्वतन्त्र गरी ८ उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र नम्वर २ मा विभिन्न दल र स्वतन्त्रका गरी १२ जना, क्षेत्र नं. ३ मा स्वतन्त्र सहित ७ र क्षेत्र नं. ४ मा स्वतन्त्र सहित १० जनाको धरौटी जफत भएको जनाएको छ ।
प्रदेश सभातर्फ ७५ जना उम्मेदवारको जमानत जफत भएको छ । जसमध्ये ३० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभा १(क) वाट २ स्वतन्त्र सहित ८, १(ख) वाट ८ स्वतन्त्र सहित १६, प्रदेश सभा २(क) बाट २ स्वतन्त्र सहित ८ र २(ख) बाट ८ स्वतन्त्र सहित १६ जनाको जमानत जफत भएको छ । प्रदेश सभा ३(क) वाट ५ स्वतन्त्त सहित १४, ३(ख) वाट २ स्वतन्त्रसहित ९ तथा प्रदेश सभा ४(क) वाट ४ स्वतन्त्र सहित ८ जना र ४(ख)वाट ५ स्वतन्त्र सहित ९ जनाको जमानत जफत भएको छ ।