• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चर्पी निर्माणका लागि कोही माइतीलाई गुहार्दै त कोही ऋण खोज्दै

चर्पी निर्माणका लागि कोही माइतीलाई गुहार्दै त कोही ऋण खोज्दै

सुधा देव । राजविराज, ४ पुस । हनुमान नगर नगरपालिका वडा नम्वर १२ स्थित मुखिया टोलका वासिन्दा यतिबेला चर्पी बनाउन सक्रिय भएका छन् ।
नेपाल सरकारको खुला दिसामुक्त अभियानको अन्तिम चरणमा चर्पी बनाउने क्रममा मुखिया बस्ती नै सकारात्मक रुपमा सक्रिय रहेको सोही ठाउँमा खुल्ला दिशामुक्त अभियान सफल पार्न काम गर्दै आएका कोसी पीडित समाजका सहजकर्ता कञ्चन यादवले बताइन् । कुल ३ सय ५५ घरधुरी रहेको उक्त वडामा २ सय घरधुरीमा मात्र चर्पी निर्माण भएको छ भने १० वटा चर्पी निर्माणाधिन अवस्थामा रहेको छ ।
मुखिया, यादव जातजातिको बसोबास रहेको उक्त वडामा मुखिया समुदाय एकदमै विपन्न भएपनि चर्पी बनाउने अभियानमा एकदमै सक्रियताका साथ लागेको सो वडाका वडा अध्यक्ष रामदेव मुखियाले बताए । उनले भने ‘कोशी पीडित समाजको सहकार्य र हाम्रो अथक प्रयासले यी समुदाय चर्पी निर्माणको अभियानमा सक्रिय भएको छ ।’
६ महिना यता मात्र अधिकांश घरमा चर्पी बनिसकेको छ भने केही निर्माणाधिन अवस्था रहेको छ । अत्यन्तै विपन्न यस ठाउँका यी समुदायको एकदमै थोरै जग्गामा घर भएपनि त्यही ठाउँमा स–सानो टुक्रा निलेर पनि चर्पी बनाउनु उदाहरणीय रहेको स्थानीयबासीहरुको भनाई रहेको छ ।
सोही ठाउँका श्री मुखियाको जग्गाको नाममा एउटा घर बाहेक केही नभएपछि घरकै पीढि (ओसरा)मा चर्पी बनाएको यो जिल्लाकै लागि सायद उदाहरण रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाले बताए । उनले भने ‘यदी मानिसले गर्न चाहयो भने जे पनि सम्भव छ, मन हुनु प¥यो ।’
सोही ठाउँकी उर्मिला देवी यादवले श्रीमान् गुमाएको धेरै भयो, भएको एक छोराको पनि एक वर्ष अगाडि मृत्यू भएपछि एक बुहारी तीन ताति र एक नातिनीसँग बस्दै आएकी छिन् । उनी भन्छिन् ‘घरमा छोरा मान्छे कोही छैन्, सानो घडेरी बाहेक जग्गा जमिन समेत छैन्, भएकी एउटी बुहारीले मिलमा काम गरेर ल्याएको ज्यालाले हाम्रो जिविकोपार्जन जसोतसो चलेको छ ।’
६ महिना अघि चर्पी बनाउन शुरु गरे पनि आर्थिक अभावका कारण अहिलेसम्म बनाउन नसकेकोले बाँकी रहेको सामान लिन बुहारी माइती गएकी छिन् । दाजु भाइलाई माया लागेर दियो भने नेपाल सरकारको समय सिमा भित्रै चर्पी निर्माण हुनेमा आफु विश्वस्त रहेको बताईन् ।
सोही ठाउँकी शान्ति देवी यादवले भने ‘संस्थाका प्रतिनिधिसँगै मैले पनि श्रीमानलाई चर्पीको लागि दवाव दिदैं आएपनि अटेरी गर्दै आउनु भएको छ ।’ चर्पी नभएकैले पटक–पटक दवाव दिन संघ संस्था मात्र नभएर समुदायका मानिसहरुसम्म पटक–पटक आउने गरेकोले ऋण लिएर पनि बनाउनु नै पर्ने बाध्यता भएकोले ऋण लिएर बनाउन दवाव दिएको गुनासो गरिन् ।
यस सम्बन्धमा यस नगरपालिकाका प्रमुख शैलेश साहले कतै–कतै यो अभियानमा सक्रिय भएर लागेपनि सबै ठाउँमा यस्तो देखिएको बताए । ‘कसै–कसैलाई जग्गा तथा अन्य समस्या भएकोले समय सिमाभित्र जादुको छडी जस्तो तुरुन्तै कठिन छ’ उनले भने ‘खुल्ला दिशामुक्त अभियानका लागि अहिलेसम्म जति नेपाल सरकारले रकम खर्चेको छ, त्यतिले सबै नेपाली नागरिकको घरधुरीमा चर्पी बनाउन सकिन्थ्यो ।’
समाजमा हरेक किसिमको समस्या भएकोले सबैको घर–घरमा तत्कालै चर्पी निर्माण गर्न कठिन रहे पनि अभियानलाई सफल बनाउन यस्तै तिब्र गतिमा काम भई राख्यो भने बिस्तारै सफल हुने उनले बताए । नेपाल सरकारले कार्यक्रम सञ्चालन गर्नुसँगै विपन्न परिवारलाई केही सहयोग गर्नपर्ने प्रमुख साहको सुझाव छ ।