पर्सा, ३ पुस । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ ।
सोमबार वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रनिधिनिधि सभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले सो मार्ग सुधारको शुभारम्भ सिलान्यास गरेका हुन् । भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्ज–ठोरी सडकखण्ड अन्तर्गत सेढवासम्मको ३० किलोमीटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रा.लि. र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् । १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको १५÷१५ मिटर चौडाई भएको दुई लेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सडक विभाग र ठेकेदार कम्पनीबीच ३० महीनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको छ । परियोजनाको प्राविधिक कन्सल्ट्याण्ट भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडको रहेको छ ।
सो वीरगञ्ज–ठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य जन्नत अन्सारी, २ का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो ।
पर्सामा हुलाकी सडक योजना सम्पन्न भएसँगै मुलुककै आर्थिक राजधानी मानिएको वीरगञ्जसँग अहिले प्रयोगमा आइरहेको पूर्वपश्चिम राजमार्गको विकल्पसमेत खुला हुने अपेक्षा गरिएको छ ।