• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

न्यूज २४ च्यानलद्वारा सप्तरीमा मुसहर बस्ती निर्माण कार्य थालियो

न्यूज २४ च्यानलद्वारा सप्तरीमा मुसहर बस्ती निर्माण कार्य थालियो

राजविराज, ३ पुस । गत साउन २८ गते आएको बाढीले विस्थापित सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर ४ स्थित मुसहर बस्ती बनाउने कार्य एक नेपाली टेलिभिजन च्यानलले थालेको छ ।
नेपाली मिडियाको इतिहासमै पहिलो पटक न्यूज २४ नेपालले उक्त वस्ती निर्माण गर्न लागेको हो । सोमवार एक कार्यक्रम माझ उक्त टेलिभिजनका सञ्चालक अनिल जोशी तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद उपेन्द्र यादवले संयुक्त रुपमा उक्त वस्तीको शिलान्यास गरेका हुन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत नै पर्ने उक्त वस्तीका ७७ मुसहर परिवारलाई घर वनाईदिने लक्ष्य सहित काम थालिएको जोशीले जानकारी गराएका छन् ।
उक्त टेलिभिजनमा प्रशारित हुने ‘सिधा कुरा जनता सँग’ कार्यक्रममा कोइलाडी स्थित बाढी विस्थापित मुसहर बस्तीवारे रिर्पोट प्रशारित भएपछि देश विदेशमा रहेका नेपालीहरुले थोरथोरै पैसा पठाउन लागेको तथा विस्तारै अर्थ संकलन वढेपछि सिङ्गो बस्ती नै बनाईदिने लक्ष्य सहित आफुहरु अघि बढेको उनले बताए । करिब दुई करोडको लागतमा उक्त वस्ती निर्माण कार्य थालिएको जानकारी गराउँदै जोशीले दर्शकहरुले पठाएको रकम अपुग भए टेलिभिजन परिवारले समेत लगानी गर्न पछि नपर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नवनिर्वाचित सांसद एव फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाना थरिका समाचार र सुचनाहरु प्रशारित गर्दै जनजनलाई सुचित गर्ने काममा सक्रियता देखाउँदै आएका नेपाली मिडिया हाउसहरु आफ्नो सामाजिक दायित्व निर्वाहमा उत्तिकै अगाडि रहेको भन्दै नेपाली मिडिया हाउसहरुबाट अन्य व्यापारिक संस्थाहरुले समेत सिक्नुपर्ने बताए । तराई–मधेशसहित विकासको दृष्टिले समग्र देश नै पछाडि रहेको अवस्थामा सवै वर्ग, समुदाय, क्षेत्र लगायतकाहरुको संयुक्त प्रयासले मात्रै समृद्ध राष्ट निर्माणको परिकल्पना साकार हुन सक्ने यादवको भनाई थियो ।
कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टी नेपालका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह, पत्रकार रवि लामिछाने, दिपक बोहरा, इन्जिनियर चुमन दुर्लामि, सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय समेतले मन्तव्य व्यक्त गर्दै बस्ती निर्माणका क्रममा आफुहरुले सक्दो सहयोग गर्ने बताए ।