सिरहा, २८ मंसिर । सिरहाको लहान नगरपालिका–१ स्थित सहिद चौकमा विहीवार दिउँसो बम विष्फोटमा परी एक जना गम्भिर घाइते भएका छन् ।
अपराह्न करिब १ बजेको समयमा लहानको मुटु मानिने सहिद चौकमा रहेको साइकल स्टोर अगाडि बम विष्फोट भएको हो । एक अपरिचित व्यक्ति पुरानो साइकल छाडेर गएको केही छिनमै ठूलो विष्फोट भएको जनाईएको छ ।
साइकलको सिट मुनी राखिएको बम विस्फोटमा परी स.२ प. ७४८० नम्बरको मोटरसाइकलमा सवार सप्तरीका बनरझुला निवासी प्रमेश्वर चौधरी गम्भिर घाइते भएका छन् । घाइते चौधरीको हात र पिठ्युमा गम्भिर चोट लागेको छ । सिरहाको लहान स्थित अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले विहीबारै प्रेस विज्ञप्ति जारी गर्दै बम विष्फोटको जिम्मा लिएका छन् । तराईमा सुरक्षा नाममा बन्दूकको बलमा प्रहरी र सशस्त्र प्रहरीको ज्यादती पराकाष्ठा पार गरेको आरोप लगाउँदै लहान नगरपालिका अन्तर्गत विशाल होटलको अगाडि ड्युटीमा रहेको सशस्त्र प्रहरीलाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट गराएको दाबी गरेका छन् ।
तस्विरः दिनेश्वर गुप्ताको फेसबुक वालबाट