राजविराज, २७ मंसिर । राजविराज नगरपालिकालाई खुला दिसामुक्त घोषणाका लागि बुधवार एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।
राजविराज नगरपालिका कार्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नगर क्षेत्रका केही घरहरुमा अझैं शौचालय निर्माण हुन नसकेकोले यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ । युनिसेफको सहयोगमा आयोजित कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले दिएको जानकारी अनुसार नगरपालिकाको ८ ओटा वडाको जम्मा ६९३६ घर धुरीमध्ये कुल ८९९ घरधुरीमा अझैं चर्पी निर्माण हुन सकेको छैन ।
वडा नम्वर १ मा १११४ घर धुरीमध्ये ५३८ घर, वडा नम्वर २ को ९७८ घर धुरीमध्ये ६० घर, वडा नम्वर ३ मा ५५४ मध्ये १६, वडा नम्वर ४ मा ३२७ मध्ये एउटा घरमा चर्पी निर्माण हुन सकेको छैन । यसैगरी वडा नम्वर ५ मा ५९९ मध्ये ३० घर, वडा नम्वर–६ मा ११७२ मध्ये २०६, वडा नम्वर ७ मा १२७८ मध्ये ४३ र वडा नम्वर ८ मा ९१६ मध्ये ५ घरमा अझैं शौचालय निर्माण हुन नसकेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
२०१७ भित्र सप्तरी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेको भन्दै छोटो समयमा उक्त लक्ष्य पुरा गर्नुपर्ने भएकोले सरोकारवालाहरुलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन अध्यक्ष चौधरीले आग्रह गरेका छन् । नगर क्षेत्रमा कर्मचारी तथा स्वयंसेवकहरु खटाएर शौचालय निर्माण अभियानलाई अगाडि बढाईएको उनले बताए ।
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले खुलादिसामुक्त गर्नु जिल्लावासीको प्रतिष्ठाको सवाल रहेको भन्दै सबैपक्षले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राजविराज नगरपालिकाकी उप–प्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव समेतले खुला दिसामुक्त अभियानलाई अझ तिब्र बनाउनुपर्नेमा जोड दिए ।