• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आठ जिल्ला मधेशको आधारस्तम्भ हो, बाँकीका लागि संघर्ष गर्छौंः उपेन्द्र

आठ जिल्ला मधेशको आधारस्तम्भ हो, बाँकीका लागि संघर्ष गर्छौंः उपेन्द्र

राजविराज, २६ मंसिर । सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनताले अधिकार नपाएसम्म न्यायकालागि संघर्ष जारी रहने बताएका छन् ।
राजविराजमा मंङ्गलवार फोरम र राष्ट्रिय जनता पार्टीको मधेशी गठबन्धनले राजविराज स्थित गजेन्द्र चौकमा आयोजना गरेको विजयी सभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफुहरुलाई जनादेश दिएको बताउँदै उनले भने ‘संघर्ष अगाडि बढाउन मधेशी जनताले हामीहरुलाई जनादेश दिएकोले जनताले अधिकार नपाएसम्म न्यायकालागि संघर्ष जारी रहन्छ ।’
पहाडमा समेत आम जनताको जनजिवन अभावग्रस्त रहे पनि तुलनात्मक रुपमा बेरोजगारी, गरिबी र अभावग्रस्त जिवन मधेशमै रहेको यादवले बताए । यस्तो दुरावस्था हुनुमा सिंहदरबार र नारायणहिटीमा शासन गर्नेहरुको विभेदकारी नीति, भेदभावपूर्ण दोषी रहेकोले यस्तो चिन्तनबाट मुक्त भएमात्र मधेशको विकास हुने उनले बताए ।
विकास र अधिकार दुवै कार्यलाई निरन्तर अगाडि बढाउँदै जनताबाट प्राप्त जनमत र जनभावनाका साथ आफु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । फोरम अध्यक्ष यादवले मधेशी जनताबाट पाएको जनमतको सम्मान गर्ने क्रममा जस्तोसुकै संघर्ष गर्न आफुहरु पछि नहट्ने बताउँदै भने ‘मधेशका जनताबाट पाएको जनमतको मूल्य चुकाउन हामीहरु जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौं ।’
निर्वाचन परिणामले प्रदेश नम्वर–२ मधेश सरकार बन्ने बताउँदै उनले भने ‘प्रदेश नम्वर २ को ८ जिल्ला मात्र मधेश होइन, २२ जिल्ला हो, त्यसैले यो प्रदेश हाम्रो आधारस्तम्भ बनेको छ, बाँकी भूभागका लागि अब हाम्रो संघर्ष अगाडि बढ्छ ।’ सप्तरी क्रान्तिकारी इतिहास बोकेको जिल्ला भएको भन्दै यो भूमीले परिवर्तनका लागि भएको आन्दोलनमा निभाएको भूमिकाले आफुहरुलाई उर्जा प्रदान गरिरहेको उनले बताए ।
मधेशी गठबन्धनको तर्फबाट प्रतिनीधि सभा सदस्यमा निवार्चित क्षेत्र नम्वर ३ का चन्द्रकान्त चौधरी, प्रदेश सभामा निर्वाचित मनिष कुमार सुमन, शैलेन्द्र प्रसाद साह, विन्देश्वर प्रसाद यादव, नवलकिशोर साह लगायतको सहभागिता रहेको थियो । विजयी जुलुस सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न भाग परिक्रमा गरेको थियो ।
हालै सम्पन्न निर्वाचनमा ४ प्रतिनिधि र ८ प्रदेशसभा सदस्य सिट रहेको सप्तरीमा ३ प्रतिनिधि र ५ प्रदेशसभा सदस्य पदमा मधेशवादी दल निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ १ वटामा काँग्रेस तथा प्रदेशसभातर्फ २ वटामा नेकपा एमाले र एक वटामा नेपाली काँग्रेस विजयी भएका छन् ।