राजविराज, २५ मंसिर । सप्तरीको प्रदेश सभा क्षेत्र नम्वर १(१) मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार भई पराजय भएका राजकुमार लेखीले आफु मधेशी, थारु, आदिवासी, जनजातीलगायत शोषित उत्पीडित समुदायको हक अधिकारकालागि संघर्ष गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावमा जीत–हार स्वाभाविक भएको भन्दै जनताको जनमतलाई आफुले सकारात्मक रुपमा लिएको बताउँदै उनले भने ‘शोषित उत्पीडित जनताको हक अधिकार प्राप्तिको आन्दोलनमा रत्तिभर विचलित नभई सशक्त भएर अगाडि बढ्नेछु ।’
निर्वाचनमा थरिथरिका माफियाहरुले ठूलो आर्थिक चलखेल गरेको भन्दै त्यस्तालाई आमजनताले चिन्नुपर्ने बताए । आफुले विद्यार्थी जिवनकालदेखि संघर्ष गर्दै आएको चर्चा गर्दै आउँदा दिनहरुमा जनताको सेवामा थप सशक्त भएर लाग्ने नेता लेखीले प्रतिवद्धता व्यक्त गरे ।
आफु पराजित भए पनि सहकर्मी तथा नेताहरु विजय प्रदेश नम्वर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको मधेशी गठबन्धनले उत्साहजनक जीत हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले भने ‘म हारे पनि मधेशी गठबन्धनको उत्साहजनक जीतले हाम्रै जित भएको छ, त्यसैले म खुशी छु ।’
प्रदेश नम्वर २ मा आफुहरुकै गठबन्धनको सरकार बन्ने भन्दै मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायको अधिकार सुनिश्चित हुने बाटो खुलेको नेता लेखीले बताए । उनले भने ‘अहिलेको परिणाम परिवर्तन विरोधीहरुकालागि गतिलो जवाफ हो ।’
आफुलाई मतदान गर्ने मतदाता, सहयोगी, शुभेच्छुसहित सबैलाई लेखीले पत्रकार सम्मेलन मार्फत धन्यवाद सहित आभार प्रकट गरेका छन् ।