राजविराज, २४ मंसिर । मंसिर २१ गते सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र नम्वर २ बाट विजयी भएका उपेन्द्र यादवलाई निकटतम् प्रतिद्वन्द्वी उमेश कुमार यादवले प्रेस विज्ञप्ति मार्फत वधाई तथा शुभकामना ब्यक्त गरेका छन् ।
मतगणना परिणाम सार्वजनिक भए लगत्तै उनले प्रेस विज्ञप्ति जारी गर्दै विजयी उम्मेदवार यादवलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ऐतिहासिक घडिमा वामगठवन्धन र आफुलाई मतदान गर्ने मतदाता तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभचिन्तकलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।
‘निर्वाचनमा जित–हार स्वभाविक हो, मैले यसलाई पराजयको रुपमा लिएको छैन’ प्रे विज्ञप्तिमा भनिएको छ ‘चुनावमा जित्नुभन्दा अघि पनि मैले सप्तरीका जनताको विचमै रहेर सेवा गरेको थिएँ र जनताले प्रतिनीधि बनाउँदा समेत जिम्मेवारीलाई ईमान्दारीताका साथ निभाएको कुरा स्मरण गराउन चाहन्छु ।’ आगामी दिनमा समेत जनताको विचमै रहेर सेवा गर्ने र दुःख सुखमा साथ दिने प्रतिवद्धता र प्रण गर्दै उनले अन्धजातीय अहंकारवाद तथा सामन्ती अवशेषका विरुद्ध बलिदानीपूर्ण संघर्ष पनि जारी राख्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बाम गठवन्धनमा रहेका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुलाई रत्तिभर विचलित नभई जनतासँगको सम्वन्ध अझ सुदृढ बनाउन र आगामी दिनमा अझ सुमधुर सम्वन्ध वनाई सफलता प्राप्तिकोलागि संघर्ष गर्न समेत उनले अपील गरेका छन् । लामो संघर्ष र वलिदानी पछि मुलुकले संविधान सभा मार्फत संविधान पाएको भन्दै संविधानमा केही असन्तुष्टि स्वभाविक रहेको भन्दै नेकपा माओवादी केन्द्रले समेत फरक मत सहित संविधान जारी गर्न योगदान गरेको विज्ञप्तिमा उल्लेख छ । सोही संविधान कार्यान्वयनको महत्वपुर्ण चरण अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि सम्पन्न भएको यादवद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर– २ बाट प्रतिनीधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले २१ हजार ६ सय २० मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी पूर्व सिंचाईमन्त्री समेत रहेका पूर्व सांसद उमेश कुमार यादवले ११ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् ।