• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बालरोग विशेषज्ञ डा. सूर्यनारायण भोट माग्न व्यस्त

गजेन्द्रबाबुको नाममा बाल अस्पताल खोल्ने सपना
बालरोग विशेषज्ञ डा. सूर्यनारायण भोट माग्न व्यस्त

राजविराज, १५ मंसिर । विगत २९ वर्षदेखि चिकित्सा पेशामा संलग्न डा. सुर्यनारायण यादव यतिबेला घर–घर घुमेर जनतासित भोट माग्न व्यस्त रहेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिका–४ डिमन निवासी डा. यादव मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट मधेशी गठबन्धनका उम्मेदवार बनेका हुन् । स्व. गजेन्द्र नारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना परिषद्मा आबद्ध भई विद्यार्थीकालमै राजनीति गरेका डा. यादवले २०४५ सालमा चिकित्सा सेवा सुरु गरेपछि अनवरत रुपमा विरामीको उपचारमा मात्र आफूलाई केन्द्रीत गरेका थिए । सरकारी स्वास्थ्य सेवाबाट गत बैशाख ५ गते सेवा निवृत भएपछि अहिले उनी निर्वाचन लड्न लागेका हुन् ।
वरिष्ठ बाल रोग विशेषज्ञका रुपमा नाम कमाएका डा. यादवले लामो समय जनकपुरमा रही सेवा पुरयाएको बताए । संघीय समाजवादी फोरम नेपालबाट गठबन्धनको उम्मेदवार रहेका उनले पार्टीले उठाएको मुद्दाप्रति आफू प्रतिवद्ध रहेको भन्दै जिल्लामा सिंचाईको अभाव, कोशी टप्पुका चौपायाबाट आसपासका वासिन्दाले भोग्नुपरेको समस्या तथा सप्तरीमा खस्दै गएको स्वास्थ्य अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
लामो समय एक चिकित्सकका रुपमा कामगरि अहिले चुनावी मैदानमा उत्र्दा कस्तो अनुभव भएको छ ? भनी राखिएको जिज्ञासाप्रति उनले आफ्नो निर्णयलाई जनताले सकारात्मक रुपमा लिएको कारण आफूलाईपनि सन्तोषै लागेको प्रतिक्रिया व्यक्त गरे । सरकारी सेवाबाट अवकास लिएपछि अब देश तथा जनताको सेवा गर्न राजनीति पनि उचित माध्यम हुने भन्दै उनले थपे ‘अबको बाँकी १५–२० वर्ष जतिको सक्रिय उमेरलाई देश र जनताकै सेवामा समर्पित गर्ने सोच बनाएको छु ।’
स्वास्थ्य क्षेत्रमा रहँदा गरेको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? भनि राखिएको अर्को जिज्ञासमा उनले बताए ‘मैले मानव सेवाकै दृष्टिकोणबाट काम गर्ने जुन अवसर पाएँ त्यसबाट सन्तुष्ट नै छु ।’ खर्चको अभावले उपचार गर्न नपाएकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि थप सहयोग समेत गर्ने अवसरले आफुलाई आत्म सन्तुष्टि नै मिलेको डा. यादवको भनाई छ । राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको नामाकरण स्व. गजेन्द्र बाबुको नाममा गरिएको भएपनि स्वास्थ्य सेवामा सुधार ल्याउने मामिलाप्रति अहिलेसम्म जिम्मेवार निकायको ध्यान नपुगेकोमा आफूलाई दुःख लागेको उनले सुनाए ।
उनले भने ‘स्व. गजेन्द्र बाबुको नाममा एउटा छुट्टै बाल अस्पताल स्थापनाको मेरो सपना छ, हेरौं कतिको सार्थक हुन्छ ।’