• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कम्युनिष्टहरुबाट सचेत रहनुस् दमनकारी शासन स्थापना गर्न खोज्दैछः प्रम देउवा

कम्युनिष्टहरुबाट सचेत रहनुस् दमनकारी शासन स्थापना गर्न खोज्दैछः प्रम देउवा

राजविराज, १४ मंसिर । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु नेपालमा दमनकारी शासन स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नम्वर– ३ स्थित शम्भुनाथ नगरपालिकाको कठौना बजारमा विहिवार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । बाम गठबन्धन नेपाली जनताले पाएको हक अधिकार समेत खोस्ने षडयन्त्रमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने ‘नेपाली जनताको त्याग र बलिदानबाट स्थापित अधिकार र स्वतन्त्रतालाई कम्युनिष्टहरुले दमनकारी शासन स्थापना गर्न खोजिरहेकोले आम जनता सचेत हुनुपर्दछ ।’
नेपालमा दमनको शासन स्थापना गर्नकै निम्ति कम्युनिष्टहरुको एकता भएको दावी गर्दै कम्युनिष्टको सरकार बने जनतालाई आफ्नै सम्पत्तिको अधिकारबाट बञ्चित गराएर दास बनाएर राख्ने र देशमा चुनाव समेत हुन नदिने बताए । करिब ५ मिनेट मात्र मन्तव्य दिएका उनले अधिकांश समय बाम गठबन्धनको आलोचना गर्नमै खर्चेका उनले भने ‘देशमा कम्युनिष्टहरुको बहुमतको सरकार बन्यो भने जनताको अधिकार खोसिन्छ नै, कैयौं दशकसम्म चुनाव हुन दिंदैन ।’
संविधान संशोधनमार्फत मधेशको अधिकार प्राप्ति तथा संघीयता र लोकतन्त्रको रक्षाकालागि नेपाली काँग्रेसको विकल्प नरहेको उनले बताए । नेपाली काँग्रेस मधशकै पार्टी भएको दावी गर्दै मधेशी जनताको हक हितकालागि संघर्ष गर्दैआएको बताउँदै उनले भने ‘नेपाली कांग्रेस मधेशकै पार्टी हो, संविधान संशोधन गर्न खोज्दा एमाले कट्टर विरोधीको रुपमा उभिएकोले संविधान संशोधन हुन सकेन ।’
मधेशी जनतालाई कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले बहुमत पाए संविधान संविधान संशोधन हुने कुरा ढुक्क रहन आग्रह गरे । मधेशी जनताको हक अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘कांग्रेसको जीत सुनिश्चित छ, तपाईहरु कांग्रेसलाई मतदान गर्नुस् ।’
सप्तरी जिल्ला विकास निर्माणको दृष्टिले पछाडि परेको भन्दै उनले कठौना–पातो, शम्भुनाथ–बनैनियाँ सडक यसै आर्थिक वर्षमा कालोपत्रे गर्ने, रुपनी–गाईघाट सडकको ट्रयाक खोल्ने, हुलाकी सडकको निर्माण थालनी गर्ने, शम्भुनाथमा नगरपालिकाको भवनकालागि जग्गाको भोगाधिकारको व्यवस्था र उक्त नगरपालिकामा २५ शैय्याको अस्पताल निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीका क्षेत्रीय सभापति रामप्रसाद मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तथा प्रतिनीधि सभा क्षेत्र नम्वर ४ का उम्मेदवार तेजुलाल चौधरी, प्रदेश सभा सदस्यका उम्मेदवार रञ्जित कर्ण, पार्टीका जिल्ला सभापति तथा क्षेत्र नम्वर ३ का उम्मेदवार दिनेश कुमार यादव, प्रदेश सभा सदस्यका उम्मेदवार मो. समिमलगायतले मन्तव्य व्यक्त गरे ।