राजविराज, १३ मंसिर । सप्तरीको राजविराज स्थित दुर्गा सेकेण्ड्री स्कुलका प्रिन्सिपल चन्द्रशेखर देवबाटै छात्रा पीडित भएको भनी समाचारको विषयलाई लिएर न्यूज टुडे प्रेसमा बुधवार विद्यार्थीहरुको एक समूहले तोडफोडको प्रयास गरेका छन् ।
साझा अफसेटबाट पत्रिका छापेर वितरणकालागि पठाउने क्रममा दुर्गा वोर्डिङ्ग स्कूलमा अध्ययनरत विद्यार्थीहरुको समूहले तोडफोडको प्रयास गरेका हुन् । समाचारप्रति असन्तुष्टि जनाउँदै ‘विद्यार्थीहरुसँग नसोधिकन समाचार किन छापेको ?’ भन्दै उनीहरुले आक्रोश पोखेको प्रेसका मेसिन म्यान दिलिप कुमार साहले जानकारी दिएका छन् ।
‘पत्रिकाका सम्पादक श्यामसुन्दर यादव कहाँ छ ?’ भन्दै प्रेसमा तोडफोडको प्रयास गरेपछि मेसिन म्यान साहले ‘सम्पादक १० बजेपछि मात्रै आउँछ’ भनेपछि विद्यार्थीहरुले मोबाइल नम्बर मागेका थिए । प्रेस अगाडि विद्यार्थीहरुको हुलबाट ९८२५७५२८७८ नम्बरबाट सम्पादक यादवलाई फोन गरी ‘दुर्गा बोर्डिङ्गको समाचार किन लेखेको ?, विद्यार्थीसँग किन सोधेको भन्दै तुरुन्त स्कुल आउनस्, नभए ठिक हुँदैन ।’ भन्दै धम्कीपूर्ण शैलीमा गरिएको फोनमा सम्पादक यादवले ‘मैले लेखेको समाचारमा पीडित छात्रा, एसपी, प्रिन्सिपल समेतको भनाइ उल्लेख रहेकोले समाचार पूर्ण छ’ भन्दै फोन काटिदिए ।
प्रेस अगाडि विद्यार्थीहरुले हुलहुज्जत गरिरहेकोबारे तथा मोबाइलमा धम्कीपूर्ण फोन आएको भनी जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाई जानकारी गराएपछि तत्कालै सुरक्षाकर्मीको टोली अफसेट प्रेस अगाडि पठाएका थिए । दिनभरि प्रहरीले पत्रिका र अनलाइनको कार्यकक्ष तथा प्रेस अगाडि सुरक्षा दिएका छन् ।