• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चोरी भएको गहनासहित तीन जना चोर प्रहरी हिरासतमा

चोरी भएको गहनासहित तीन जना चोर प्रहरी हिरासतमा

राजविराज, ५ मंसिर । चोरी भएको गरगहनासहित सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विगत केही समयता राजविराज नगरपालिकामा चोरीका घटनाहरु बढिरहँदा प्रहरी चोरी भएको सामानसहित चोरलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरुमा जिल्लाको महादेवा गाउँपालिका–१ घर भएका कोठा भाडामा लिएर बस्ने २६ वर्षिय मो.कुर्वान, उनकी पत्नी रिता पासवान खातुन र राजविराज नगरपालिका–११ का घर भई सोही घरमा कोठा भाडामा बस्ने ३८ वर्षिय अबध राम रहेका छन् । उनीहरुले राजविराज नगरपालिका–२ का अमरेन्द्र कुमार देवको घरबाट गत कार्तिक २६ गते चोरी गरेर लगेको सुनको नथिया, चाँदीका ८४ तोला ११ आनाका विभिन्न किसिमका गरगहना, लत्ताकपडा सहितका सामानहरु महदेवा–१ का मो. कुर्बानको घरमा पुर्याई लुकाई–छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुलाई नियन्त्रणमा लिई चोरी मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक धु्रव कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
घर परिवारका कुनै सदस्य नभएको मौका छोपि सोहि घरमा कोठा भाडामा लिएर बस्दैआएका भाडेदारहरुले मुल ढोकाको चुकुल कब्जा काटी ढोका खोलेर सुत्ने कोठाको ताल्चा फुटाउँदै कोठामा प्रवेश गरी स्टिल दराज भित्र रहेको सुन, चाँदी, नगद, रुपैयाँ, मोवाइल, लत्ताकपडा, भाडा बर्तन समेत गरी अन्दाजी १३ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयमा अमरेन्द्रकी पत्नी शोभा कुमारी देवले दिउको जाहेरीको आधारमा प्रहरीले चोरी भएको सामानसहित चोरलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।