• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका सिडियोले भने ‘कर्मचारीले सूचना नदिए फोन गर्नुस्’

सप्तरीका सिडियोले भने ‘कर्मचारीले सूचना नदिए फोन गर्नुस्’

राजविराज, २ मंसिर । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सार्वजनिक निकायहरुलाई पारदर्शी एवम् उत्तरदायी बनाउन पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोगमा जिल्ला शाखाद्वारा शनिवार आयोजित सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सार्वजनिक निकायहरु अझैं पारदर्शी हुन नसकेका कारण अपेक्षाकृत विकास हुन नसकेको तथा सर्वसाधारण जनताले दुःख पाउने अवस्था रहेको प्रष्ट पार्दै उनले भने ‘सार्वजनिक निकायहरुलाई पारदर्शी एवम् उत्तरदायी बनाउनु पत्रकारहरुले जिम्मेवार भएर कलम चलाउनुपर्दछ ।’
सूचना लिन पाउनु सबै अधिकार भएको भन्दै सार्वजनिक निकायले सूचना दिन आनाकानी गरे आफुलाई सिधै जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । ‘सूचनाको हकले प्रतिबन्ध गरेको केही बाहेकका विषयहरुमा सूचना दिन जिल्ला स्थित निकायहरुको आनाकानी गर्छ भने सिधै हामीलाई जानकारी दिनुस्, जतिबेला पनि मोबाइल फोन खुल्ला छ’ उनले भने ‘कार्यालय प्रमुखहरुको बैठकमा समेत यो विषयमा गम्भीरतापूर्वक उठाउनेछु ।’
महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झाले सूचनाको हकलाई अधिकतम् उपयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । जिल्लामा सरोकारवाला निकायहरुमा सूचना लुकाउने प्रवृति व्याप्त रहेको बताउँदै उनले भने ‘सूचना अधिकारीहरु वा सरोकारवालाहरुले सूचना दिएन भने नियमानुसार प्रक्रियागत रुपमा अगाडि बढे सूचना पनि पाईन्छ भने सूचना नदिनेलाई कार्वाही तथा सूचना माग्ने व्यक्तिले क्षतिपूर्ति समेत पाउँछ ।’
कार्यक्रममा सूचनाको हक सम्वन्धि कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकको परिचय, सैद्धान्तिक मान्यता, सार्वजनिक निकायका दायित्वहरू, सूचना प्राप्त गर्ने कार्र्यिवधि, सूचना बापत लाग्ने दस्तुर, पुनरावेदन दिन सक्ने, बाञ्छित विषय, सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था सहितको विषयमा प्रष्ट पारे । उनले सरकारी कार्यालय होस् वा गैरसरकारी निकाय आफ्ना गतिविधिलाई सकभर लुकाएर राख्ने प्रवृतिका कारण भ्रष्टाचार मौलाउँदै गएको भन्दै यसले गर्दा चौतर्फी अनियमितता, बेथिति एवम् दण्डहिनता बढेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, महासंघका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिलिप कुमार यादव लगायतले सूचनाको हकबारे मन्तव्य व्यक्त गरे । महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष सुधा देव तथा सञ्चालन सचिव जितेन्द्र कुमार झाले गरे ।