राजविराज, १ मंसिर । सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थ बिक्री तथा प्रयोग विरुद्व हस्ताक्षर संकलन शुरु गरेको छ ।
राजविराज स्थित गजेन्द्र चोकमा शुक्रवार आयोजित कार्यक्रमका बिच राजविराज नगरपालिकाकी उप–मेयर साधना झाले हस्ताक्षर गर्दै अभियान शुभारम्भ गरिन् । गुटखाजन्य पदार्थ चपाउनमा युवा शक्तिको संख्या बढिरहेको बताउँदै उनले यसलाई कमी ल्याउन नगरपालिकाले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले गुटखाजन्य पदार्थले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको बिक्री र प्रयोग बन्द गराउन नगरपालिकाले भूमिका खेल्ने बताईन् ।
नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले गुटखाले क्यान्सरजस्तो घातक रोग लाग्ने गरेकोले यसले ज्यान समेत जोखिम पर्ने गरेकोले युवाहरु सचेत हुनुपर्नेमा जोड दिए । राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले गुटखाजन्य पदार्थको बिक्री र प्रयोग दुबै बन्द हुनुपर्नेमा जोड् दिए ।
‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगबिरुद्व हस्ताक्षर अभियान प्रारम्भ गरिएको छ । यसबिरुद्व हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी तथा स्थानीय निकायका प्रमुखहरुलाई बुझाएर बिक्री र प्रयोग बन्द गराउन दवाव दिनेछ । सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले स्थानीय प्रशाशासन र स्थानीय तहमा गुटखाको बिक्री बन्द गराउन दवाव दिने उद्देश्यले यो अभियान थालिएको जानकारी दिएका छन् ।