राजविराज, ३० कात्तिक । उम्मेदवारहरुले आचारसंहित विपरित झुण्ड्याएका चुनाव प्रचार सामग्री सप्तरी प्रशासनले विहीवारदेखि हटाउन थालेको छ ।
व्यापक रुपमा निर्वाचन आचारसंहिता विपरित प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानहरुमा झुण्डयाएको पाईएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो । निर्वाचन आचारसंहिता सम्वन्धि छलफल कार्यक्रममा बुधवार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार तथा राजनीतिक दलहरुलाई आचारसंहिता विपरित प्रचार नगर्न चेतावनी दिएका थिए । यद्यपी उम्मेदवारहरुले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराज स्थित गजेन्द्रचौकमा झुण्ड्याईएको फ्लेक्स ब्यानर र पोष्टरहरु हटाईएको छ ।
सप्तरीका सुरक्षा प्रमुखहरु समेतको उपस्थितिमा नगरको अन्य स्थानहरुमा सुरक्षाकर्मीहरुले ब्यानर, पोष्टर तथा झण्डा खोल्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले कारवाही स्वरुप जिल्लाको सार्वजनिक स्थल, मठ मन्दिर, विद्यालय, सरकारी कार्यालय तथा विद्युतीय पोलमा उम्मेदवारहरुले लगाइएको पर्चा पोष्टरहरु हटाईने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिएका छन् ।
उम्मेदवार तथा दलका नेताहरुलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि कार्वाही सुरु गरिएको उनले बताए । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले सप्तरीमा उम्मेदवार र राजनितिक दलहरुले व्यापक रुपमा आचारसंहिता विपरित कार्य गरेको पाएकोले कारवाही गर्न बाध्य भएको बताए । उनले अझंै पनि उम्मेदवार र राजतितिक दलहरुले आचारसंहिता विपरित कार्य नरोके थप कार्वाही प्रक्रियातिर लाग्न बाध्य हुने चेतावनी समेत दिए । सप्तरीमा प्रतिनीधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ गरी १२ पदका लागि विभिन्न राजनितिक दल र स्वतन्त्र गरी १ सय ५२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । चारवटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाता रहेका छन् । 