• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा व्यापक आचारसंहिता उल्लंघन

राजविराज, २९ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन जित्ने होडमा लागेका उम्मेदवारहरुले सप्तरीमा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले राजविराजमा बुधवार आयोजना गरेको निर्वाचन आचारसंहिता सम्वन्धि छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले यस्तो कुरा बताएका हुन् । जिल्लाको अनुगमनका क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताउँदै उनले भने ‘उम्मेदवारको गतिविधि बारे हामीले अनुगमन ग¥यो’ उनले भने–‘अनुगमनकै क्रममा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको पाइएको छ ।’

उनले आचारसंहिता विपरीत भडकिलो प्रचार प्रसारमा उत्रिएको देखिएका कैयौं उम्मेदवारहरुले जिल्लाको विभिन्न सार्वजनिक स्थल, मठ–मन्दिर, सरकारी कार्यालय, विद्युतीय पोल लगायतका स्थानमा पर्चा–पोष्टरहरु टाँसेको बताए । निर्वाचन आचारसंहिता विपरित उम्मेदवारीहरुले व्यापक प्रचार प्रसार भईरहेको बताउँदै उनले प्रचार सामग्रीहरुलाई नियन्त्रण गर्नु जरुरी रहेको बताए ।

अनुमगन पश्चात उम्मेदवारहरुलाई बोलाई आचारसंहितालाई ध्यानमा राखि प्रचार प्रसार गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले सार्वजनिक स्थल, मठ–मन्दिर, सरकारी कार्यालय सहितका स्थानबाट पर्चा पोष्टर हटाउन समेत सुझाव दिएका छन् । आचारसंहिता विपरित झुण्ड्याईएका पर्चा पोष्टरहरु उम्मेदवारले नहटाए प्रहरीलाई लगाएर हटाउने चेतावनी समेत दिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिलिपकुमार यादव, मुख्य निर्वाचन अधिकृत  हरिश्चन्द्र ढुङ्गाना, जिल्लाबाट उम्मेदवारी दिएका प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु, विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता, सञ्चारकर्मी समेतको उपस्थिति थियो ।

प्रतिनीधि सभातर्फ ४ र प्रदेश सभातर्फ ८ गरी १२ पदकालागि वाम गठबन्धन, नेपाली काँग्रेस, फोरम–राजपा गठबन्धन, राप्रपा, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), नयाँ शक्ति पार्टी नेपाल तथा स्वतन्त्र गरी सप्तरीमा १ सय ५२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ३ लाख ४६ हजार २ सय १४ जना मतदाता रहेका छन् ।