• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रतिनीधित्व नभए चुवाव बहिष्कार गर्ने मुसहर समुदायको चेतावनी

प्रतिनीधित्व नभए चुवाव बहिष्कार गर्ने मुसहर समुदायको चेतावनी

काठमाडौं, २७ कार्तिक । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो समुदायको प्रतिनीधित्व नभएको भन्दै देशभरिका २४ जिल्लाका मुसहर समुदायले  चुनाव वहिष्कार गर्ने चेतावनी दिएका छन् ।

‘शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान् अभियान’’ र नेपाल राष्ट्रिय मुसहर संघले संयुक्त रुपमा  आयोजनामा प्रदेश सभा तथा प्रतिनिधी सभाको चुनाव र राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन शुरु गरिएको पहल बारेमा कार्तिक २५ र २६, २०७४ मा काठमाडौंमा सम्पन्न भएको २४ जिल्लाबाट आउनु भएका ३५ भन्दा बढी मुसहर अगुवाहरुको भेलाले ६ प्रमुख निर्णयहरु गर्दै उक्त निर्णय संचार माध्यम मार्फत सार्वजनिक गर्ने निर्णय सहित सम्पन्न भएको हो । कार्यक्रममा अभियानका प्राविधिक सहयोगी राजकुमार महतोले स्थानीय तहको निर्वाचनमा समेत मुसहर समुदायलाई राज्य तथा प्रमुख दलहरुले बेवास्ता गरेको उल्लेख गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो समुदायलाई पूरै बाईपास गरेको आरोप लगाए ।

उनले भने,‘राज्यले मुसहर समूदायलाई सँधै अधिकारबाट बञ्चित गराउँदै आएको छ, यो समूदायमा अहिले चरम शोषण भएको छ, उनीहरुले भोटको रुपमा सँधै प्रयोग गर्ने गरेका छन् ।’ महतोले प्रत्यक्षतर्फ यो समूदायका कसैलाई पनि अवसर नदिईएको बताउँदै समानुपातिकतर्फ समेत बेवास्ता गरिएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘अहिलेसम्मको नाम लिष्ट हेर्दाखेरि समानुपातिकमा एउटा पनि मुसहरको नाम पर्ने संभावना देखिएको छैन, यो अत्यन्तै दुःखदायी कुरा हो ।’

अभियानद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश सभा र प्रतिनिधी सभाको अवसर हाम्रो हातबाट निस्किसक्यो, तर हामी समक्ष एउटा अवसर अझैं बाँकी छ, त्यो हो राष्ट्रिय सभा । हामी देश भरका मुसहर समुदाय एक जुट भएर हाम्रो सम्पुर्ण मत त्यस पार्टी र पक्षमा जान्छ जसले हामीलाई अब गठन हुने राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन मनोनित गर्ने लिखित सहमती र समझदारी गर्दछ ।’

विज्ञप्तीमा थप भनिएको छ,‘ प्रदेश सभा तथा प्रतिनिधी सभाको चुनाव र राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन शुरु गरिएको पहल बारेमा कार्तिक २५ र २६, २०७४ मा काठमाडौंमा सम्पन्न भएको २४ जिल्लाबाट आउनु भएका ३५ भन्दा बढी मुसहर अगुवाहरुको भेलाले गरको निर्णय अनुसार अगुवा मुसहरहरुले  भने । यदि कुनै पनि पार्टीले मुसहर समुदायको सम्मानजनक प्रतिनिधित्व हुने गरी अब गठन हुने राष्ट्रिय सभामा मुसहर समुदायबाट समानुपातिक समावेशीताको आधारमा मनोनित गर्ने सुनिश्चिता गरेन भने हामी देश भरका १२ लाख मुसहर समुदाय मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा चुवाव बहिष्कार गर्छौै ।’ अभियानका संयोजक पचुलाल माझी मुसहरले राजनैतिक सहभागीता र प्रतिनिधित्वमा मुसहर समुदाय लगभग शुन्य सहभागिताको अवस्थामा रहेको भन्दै गुनासो पोखे । उनले भने,‘एक युगमा एक पटक आउने अवसर थियो संविधान सभा, त्यसमा पनि मुसहर समुदायको प्रतिनिधीत्व लगभग शुन्य नै थियो । यस्तो अवस्थामा हाम्रो पक्षमा र हाम्रो बारेमा सुहाउदो कानुन, नीती र कार्यक्रम कसले तय गरिदिने ? नेपालको दलितहरुको छाता संगठनले समेत मुसहरलाई महादलितको संज्ञा दिदै आएको छ ।’

उनले देशका राजनितीक दल र यसका नेताहरुले देशको १२ लाखको हाराहारीमा रहेको मुसहर समुदायलाई भोट बैंक मात्रै बनाएर राख्ने मानसिकता प्रष्ट देखिएको आरोप लगाए । नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सदाले देशलाई समृद्ध बनाउँछौं र पीडित उत्पीडित समुदायको जीवनलाई सम्मानित बनाउँछौ भन्ने झुटा आशा बाँड्ने राजनैतीक दल र यसका नेताहरुले आफनो नैतिक धरातल बिर्सेकोले गर्दा अव आफूहरु देशभरिका मुसहर समुदायको सम्पुर्ण मतदाताहरु र सम्पुर्ण मुसहर समुदाय एकजुट भएर अब राजनैतिक बार्गेनिङ्ग. गर्न बाध्य भएको प्रट्याए ।