राजविराज, २७ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका सप्तरीको प्रतिनीधि सभा क्षेत्र २ का उम्मेदवार उपेन्द्र यादवलाई यतिबेला चुनावी प्रचार अभियानमा भ्याई–नभ्याई भएको छ ।
जिल्लाको मलेठ स्थित शहिदहरुको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरी आइतवारदेखि चुनावी प्रचार अभियान थालेदेखि नै उनलाई भ्याई–नभ्याई भएको हो । मलेठमा आयोजित अभियानको सभालाई सम्बोधन गरी उनले आइतवारै लालापट्टी, गोबिन्दपुर र छिन्नमस्तामा आयोजित कार्यक्रम भ्याएका थिए । सोमवार समेत उनले चुनावी प्रचार अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिए ।
फोरम अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाका अनुसार राजविराज नगरपालिका वडा नम्वर– १६ स्थित बोरिया गाउँमा आयोजित कार्यक्रममा कार्यकर्ता भेंटघाटसँगै चुनावीसभालाई सम्वोधन गरेका छन् । उनले संविधान पुनर्लेखन र प्रदेश नम्वर–२ मधेश सरकार बनाउन फोरम नेपालको मसाल चिन्हमा मतदान गर्न आम जनतालाई आह्वान गरेका छन् । यसैगरी सोमवारै राजविराज– १, स्थित चनौरामा आयोजित चुनावी सभामा सम्वोधन गरेका छन् ।
सोही सभामा नेपाली कांग्रेस परित्याग गरी फोरम नेपालमा अलाउद्दीन मियां, सलीम मियाँ, जमीर मियाँ, फिरोज मियाँ, इस्लाम मियाँ, बेचू मियाँ, जाकीर मियाँ सहित अत्यधिक संख्यामा मुस्लिम नेताहरु प्रवेश गरेका छन् । कार्यक्रममा राजपाका महासचिव एवम् प्रदेश सभा उम्मेदवार मनिष कुमार सुमन, जिल्ला अध्यक्ष दिनेश यादव, स्थानीय नेताहरु सुरेश कुमार यादव, युसुफ अलि, सरिफुद्दीन मियाँ लगायतको उपस्थिति थियो ।
यसैगरी सोमवारै तिलाठी कोइलाडी गाउँपालिका स्थित जिरिया हाटमा आयोजित चुनावी सभालाई समेत प्रतिनीधि सभा सदस्यका प्रत्यासी फोरम अध्यक्ष यादवले सम्वोधन गरेका छन् । यसअघि उनले मधेशका मसिहा भनेर चिनिने स्व. गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका छन् ।