• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कम्युनिष्टको खोल ओढेर देशलाई लुट्ने काम गरेको छः उपेन्द्र

कम्युनिष्टको खोल ओढेर देशलाई लुट्ने काम गरेको छः उपेन्द्र

राजविराज, २६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि आइतवारदेखि औपचारिक रुपमा चुनावी प्रचार अभियान थालेका छन् ।

सप्तरी क्षेत्र नम्वर– २ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएका यादवले २०७३ फागुन २३ गते पाँच जना सहादत प्राप्त गरेको घटनास्थल मलेठ स्थित समाधी स्थल पुगेर पुष्प गुच्छा एवम् माल्यार्पण गर्दै अभियान थालेका हुन् । विहानै अन्य केन्द्रीय नेता तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त गठबन्धनका उम्मेदवार एवम् समर्थकका साथ अध्यक्ष यादव घटना स्थल मलेठ तथा समाधिस्थल गजेन्द्नारायण सिंह औद्योगिक क्षेत्रको मूलगेट पुगेका थिए । 

मलेठ गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै फोरम अध्यक्ष यादवले माओवादी भनाउँदाहरुले कम्युनिष्टको खोल ओढेर जनतालाई धोका दिने काम गरिरहेको आरोप लगाए । कम्युनिष्ट नेता माओत्सेतुङ्गले सर्वहारा वर्गको मुक्तिकालागि संघर्ष चर्चा गर्दै उनले भने ‘माओत्सेतुङ्गको काठको घर अहिले पनि सुरक्षित छ तर आफुलाई माओवादी भनाउने नेताहरुले कम्युनिष्टको खोल ओढेर देशलाई लुट्ने काम गरेको छ ।’ माओवादी पार्टी मधेशी जनताको पक्षमा नरहेको भन्दै मधेशमा कालो दिवस मनाईरहँदा सबभन्दा ठूलो खुशीयाली अध्यक्ष पुष्पकमल दाहालको घरमा खुशीयाली मनाएको प्रसङ्ग दोहो¥याए ।

बन्दुकको बलमा निहत्था मधेशी जनतामाथि गोली चलाएर जबरजस्ती संविधान जारी गरेको बताउँदै फोरम अध्यक्ष यादवले भने ‘मधेशी जनताको टाउका र छातीमा गोली ठोकेर संविधान जारी गरिएको संविधान मधेशी जनताको पक्षमा कदापी हुन सक्दैन, यो संविधानलाई संशोधन नगरिए आफ्नो संविधान मधेशी जनता आफै लेख्ने छन् ।’ मधेशको मुद्दा स्थापित गर्न र शहिदहरुको सपना साकार पार्न फोरम–राजपा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर जिताउन समेत उनले आग्रह गरे । सोही कार्यक्रममा अध्यक्ष यादवले शहिदलाई स्मरण गर्दै आफ्नो मोबाइलमा रहेको ‘ऐ मेरे वतन के लोगौं, जरा भरलो आँखमे पानी’ बोलको गीत सुनाउँदै आफु भावुक देखिएका थिए ।

सोही कार्यक्रममा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंहले मधेशी गठबन्धनका उम्मेदवारहरु विजयी भए मात्र मधेशी जनताका मुद्दाहरु सम्वोधन हुने भन्दै आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे । राजपा नेपालका महासचिव मनिषकुमार सुमनले आफुले मधेश र मधेशी जनताको सेवा गर्ने भावनाकासाथ राजनीतिमा लागेको चर्चा गर्दै जनताले दिएको जिम्मेवारी निष्ठापूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । मधेश गठबन्धनबाट सप्तरी २ (ख) बाट प्रदेशसभाका उम्मेदवार समेत रहेका उनले बामगठबन्धनका उम्मेदवार भोट माग्न आउँदा कुचो लिएर लखेट्न तथा शहिदहरुलाई साक्षी राखेर गर्वकासाथ मतदान गर्न आग्रह गरे ।

फोरम नेपालका राजनीतिक समिति सदस्य तथा सप्तरी २(क) का प्रदेशसभाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले मधेशी जनताको आदेशलाई फोरम र राजपाले पालना गरेको भन्दै मधेशी जनताले समेत मधेशको पक्षमा मतदान गर्न आग्रह गरे । मधेशी जनताले पटक–पटक धोका र तिरस्कार मात्र पाउँदैआएकोले यसपटक आफ्नो स्वाभिमान, पहिचान स्थापित गर्न र भावी सन्ततीकालागि फोरम–राजपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

चुनावी प्रचार अभियान राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजना गरिएको थियो भने कार्यक्रम सञ्चालन फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले गरे । यसैगरी आइतवारै सप्तरीको छिन्नमस्तामा आयोजित चुनावी सभालाई समेत फोरम अध्यक्ष यादवले सम्वोधन गरेको छिन्नमस्ता स्थित हाम्रा सम्वाददाता अशोक कुमार शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार राजपा नेपालका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, फोरमका केन्द्रीय नेता एवम् प्रदेश सभाका उम्मेदवार शैलेन्द्र प्रसाद साह, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, खडक नगरपालिकाका प्रमुख हेमायु हक, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’समेतका वक्ताहरुले सम्वोधन गरे ।