• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
६०औं हप्तामा समेत सरसफाईको निरन्तरता

राजविराज, २५ कातिक । सप्तरी युथ नेपालले प्रारम्भ गरेको सरसफाई अभियानको ६० औं हप्ता शनिवार राजविराज नगरपालिकामा सरसफाई कार्यलाई निरन्तरता दिईएको छ ।

राजविराजको वडा नम्वर ५ मा शनिबार बिहान सरसफाई गरिएको हो । सरसफाईमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, वडा अध्यक्ष समीर झा, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीसहित टोल विकास संस्थाका पदाधिकारीहरुले समेत सप्तरी युथ नेपालको सरसफाईमा सहयोग गरेका छन् ।  वडा नम्बर–५ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा हिलोभित्र रहेको फोहोर सफा गरिएको छ । यस्तै वडाको बिभिन्न ठाउँमा जथाभावी तरिकाले फ्याँकिएको फोहोर हटाउँदै नाला समेत सफा गरिएको छ ।

विभिन्न ठाउँको सरसफाईपछि वडा अध्यक्ष झाले यो वडामा फोहोर हुन नदिने प्रतिबद्वता जनाए । उनले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने बताउँदै वडामा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने बताए ।  जिल्ला प्रहरी प्रमुख सिंहले युवाहरुले थालेको सरसफाई अभियान सकारात्मक रहेको बताए । सरसफाईमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले स्वस्फूर्त रुपमा आफ्नो अगाडिको फोहोर आफैं हटाउने बानीको सबैमा विकास हुनुपर्नेमा जोड दिए ।

नागरिक समाजका कावा अध्यक्ष भन्सालीले युवाहरुले गरिरहेको गतिविधीले आफूहरुलाई हौंस्याएको बताउँदै युवाहरुको हरेक गतिविधीमा सकेसम्म सहयोग गर्ने बताए । ‘सरसफाई तपाईंको हातमा, हामी युवा तपाईको साथमा’ भन्ने नारासहित सरसफाई अभियानको प्रारम्भ गरिएको छ । सरसफाईलाई निरन्तरता दिइने सप्तरी युथका बिष्णु यादवले जानकारी दिए ।  सप्तरी युथ नेपालले सरसफाई अभियान प्रारम्भ गरेपछि अहिले विभिन्न ठाउँमा सरसफाई अभियानले तिब्रता पाएको छ ।