राजविराज, २४ कातिक । राष्ट्रिय मानव अधिकार आयोगद्वारा शुक्रवार राजविराजमा सप्तरी जिल्लाको मानवअधिकार प्राथमिकता निर्धारण कार्यक्रम आयोजना गरियो ।
आयोगको क्षेत्रीय कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा सिडिओ भागिरथ पाण्डेयले सही रुपमा प्राथमिकता निर्धारण भएमा समस्या समाधानमा मद्दत मिल्ने बताए । मानव अधिकारको दृष्ट्रिले पछाडि परेको जिल्लामा मानवअधिकारको सबै सवालहरु महत्वपूर्ण भएकाले सेवा सुविधाबाट बञ्चित नागरिक बढी सचेत हुनुपर्नेमा उनले जोड दिए । क्षेत्रीय कार्यालयका प्रमुख दिपेन्द्र सिंहले सरकारी निकायको क्रियाकलाप निगरानी गरी जवाफदेही बनाउन सञ्चारकर्मी, अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । तीनवटा समूहमा विभाजन गरी सुझाव संकलन गरिएको कार्यक्रममा सहभागीहरुले महिला अधिकार, बालअधिकार, राजनैतिक तथा नागरिक अधिकार, वातावरण अधिकार, आर्थिक अधिकार, जातिय छुवाछुत, अपाङ्गता, यौनिक अल्पसंख्यक र ज्येष्ठ नागरिकका सवाललाई प्राथमिकताका साथ उठाएका छन् ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झा, निलहिरा समाजका रोशन चौधरीलगायतकाले धारणासहितको मन्तव्य व्यक्त गरे । आयोगले उठेका सवाल र विषयगत कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा प्राथमिकता निर्धारण गरी कार्ययोजना तयार पारिने जनाएको छ । मानवअधिकार अधिकृत रेखा दत्तद्वारा सञ्चालित कार्यक्रममा मानवअधिकार अधिकृत दिप यादवले स्वागत तथा मानवअधिकार अधिकृत रेवा रेग्मीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका छन् । कार्यक्रममा नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मी, गैससकर्मी समेतले मन्तव्य व्यक्त गरे ।