• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘परीक्षा आइसक्यो तर पाठ्यपुस्तक आएन’ (भिडियो हेर्नुहोस्)

पाठ्यपुस्तक बिना नै पढ्छन् एसईईका विद्यार्थीहरु
‘परीक्षा आइसक्यो तर पाठ्यपुस्तक आएन’ (भिडियो हेर्नुहोस्)

 श्यामसुन्दर यादव / राजविराज, २३ कार्तिक । शैक्षिक सत्र शुरु भएको करिब सात महिना बितिसकेको छ तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–८ स्थित जनता माध्यमिक विद्यालय तोपाका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेको छैन ।

प्रधानाध्यापक र विद्यालय प्रशासनको बेवास्ताले गर्दा विद्यालयमा अध्ययनरत कक्षा १० का अधिकांश विद्यार्थीहरु अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षा सहितका पाठ्यपुस्तकहरु पाउनबाट बञ्चित भएका हुन् । वैशाखदेखि कार्तिकको तेस्रो सातासम्म पनि विद्यार्थी पाठ्यपुस्तक बिना नै विद्यालय धाउँदै आएका छन् । विद्यार्थीहरुसँग पाठ्यपुस्तक नै नहुँदा विद्यालयमा शिक्षकले मौखिक रुपमा पढाएकै भरमा पढ्नुपर्ने बाध्यता छ ।

विद्यार्थीहरुले पाठ्यपुस्तक माग नगरेको होईनन् । पाठ्यपुस्तक माग गर्दा आज भोली भन्दा भन्दै साता महिना बितिसकेको छ । पटक–पटक प्रधानाध्यापक रमेश कुमार झालाई भन्न जाँदै उल्टै हप्काएर पठाउने गरेको विद्यार्थीहरु बताउँछन् । एसईई परीक्षा आउन मात्र केही महिना बाँकी रहेकोले कोर्स समेत पुरा नहुने अवस्था रहेकोले परीक्षामा राम्रो अंक आउने सम्भावना कम हुँदै गएको छात्रा अर्चना कुमारी साहले बताईन् । ‘स्कूलमा पढाए पनि किताबको अभावमा राम्रोसँग बुझिंदैन’ उनले भनिन् ‘घरमा पढ्नकालागि किताब नै नहुँदा पढ्न पनि पाउँदैनौं ।

‘हेडसरले अब पाठ्यपुस्तक मगाउँछु भन्नुहुन्छ, पुस्तक मँगाएरै अब के हुन्छ, समय त बितिसक्यो, तीन महिनामा के पढाई हुन्छ ।’

विद्यालयका प्रधानाध्याक र शिक्षकहरुका अगाडि बोल्न डर मानिरहेका छात्राहरुमध्ये यस्तै दुःखेसो सुनाईन् रञ्जन कुमारी यादवले । आज–भोली भन्दाभन्दै सात महिना वितिसकेको बताउँदै उनले भनिन् ‘हेडसरले अब पाठ्यपुस्तक मगाउँछु भन्नुहुन्छ, पुस्तक मँगाएरै अब के हुन्छ, समय त बितिसक्यो, तीन महिनामा के पढाई हुन्छ ।’ आफुहरुले पटक–पटक पाठ्यपुस्तककालागि आग्रह गर्दा गर्दै थाकिसकेको अर्का छात्र सुभाष कुमार साहले बताए । ‘एच्छिक गणित विषय समान्य होइन, सुनेको भरमा याद पनि हुँदैन’ चिन्ता र आक्रोश मिश्रित मुद्रामा उनले थपे ‘भविष्य त हाम्रो बर्वाद हुने भो, सरोकारवाला निकायहरु कानमा तेल हालेर सुते हुन्छ ।’

समाचार संकलनका क्रममा विद्यालय पुग्दा संयोगले व्यवस्थापन समितिका अध्यक्ष समेत कार्यालयमै थिए । एसईई परीक्षा दिने विद्यार्थीहरुले आजसम्म पाठ्यपुस्तक किन पाएन ? भनी जिज्ञासामा उनले पाठ्यपुस्तक अभाव हुनुमा विद्यालय प्रशासनको कमजोरी रहेको बताए । पाठ्यपुस्तकको बारेमा प्रधानाध्यापकलाई ताकेदा गर्दैआए पनि आज–भोली गर्दा गर्दै ढिलो भएको प्रतिक्रिया दिए ।

नयाँ शैक्षिक शत्र शुरु भएको सात महिना वितिसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएको छैन, यस्तो अवस्थामा विद्यार्थीहरुलाई कसरी पढाउनुहुन्छ ? भनी प्रधानाध्यापक रमेश कुमार झालाई प्रश्न गर्दा ‘बजारमा किताबै पाईरहेको छैन, अब बाहिरबाट मँगाएर वा किताबको फोटोकपी नै गरेर भए पनि विद्यार्थीहरुलाई उपलब्ध गराउने बताए । ‘पाठ्यपुस्तक उपलब्ध नभए पनि हामीले पाठ्यक्रमकै आधारमा पढाउँदैआएका छौं’ उनले भने ‘विद्यार्थीहरुको असहजताप्रति म चिन्तित छु, ।’

नेपाल सरकारले स्थानीय तहकै मातहतमा विद्यालयलाई समेत राखेको छ तर जननिर्वाचित प्रतिनीधिहरुको समेत यसतर्फ ध्यान पुग्न सकेको छैन । विद्यालयको कार्यालयमै भेटिएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–८ का वडा अध्यक्ष लक्ष्मी प्रसाद मण्डलले यस विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक नपाएको सुन्दा आफुलाई दुःख लागेको बताए । ‘अब त परीक्षाको मात्र तीन महिना मात्र बाँकी छ, जे भयो भयो, अब कसरी राम्रो हुन्छ, यसतर्फ प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अविलम्व गम्भीर बन्नुपर्छ ।’

भिडियो हेर्न क्लिक गर्नुहोसः