• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आफू विरुद्ध भ्रम श्रृजना गरेको खतिवडाको आरोप

आफू विरुद्ध भ्रम श्रृजना गरेको खतिवडाको आरोप

राजविराज, २२ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी सचिवालयको निर्णय भनी प्रकाशित विज्ञप्तिले भ्रम श्रृजना गर्ने दुष्प्रयत्न गरेको उम्मेदवार प्रकाश खतिवडाले दावी गरेका छन् ।

आगामी मंसीर २१ गते हुने प्रदेशसभा सदस्यकालागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत ‘क’ क्षेत्रवाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै खतिवडा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको भन्दै उनलाई कार्वाही गरेको जनाएका थिए ।

केन्द्रीय सर्कुलर अनुसार ०७४ असोज १९ गते बसेको प्रदेशसभा क्षेत्रिय समन्वय कमिटीको बैठकमा उम्मेदवार सिफारिस सम्बन्धमा छलफल भई मतदानद्धारा २१ सदस्यीय कमिटीको उपस्थित २० सदस्य मध्ये १४ सदस्यको दुई तिहाई मत प्राप्त गरेको बुधवार पत्रकारहरुसँग कुराकानी गर्दै उम्मेदवार खतिवडाले बताए । उक्त बैठकमा ६ सदस्यको मत प्राप्त गर्ने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले आफु निर्णय गर्ने कमिटीमा भएकै आधारमा तल्लो कमिटिको सिफारिस सम्बन्धि मतदानलाई बेवास्ता गर्दै आफै टिकट लिई उम्मेदवारी दिएको दावी गरे ।

‘लोकतन्त्रमा पराजयलाई स्वीकार्नु पर्छ कि पर्दैन ? बैठकमा उपस्थित हुने, बिधि प्रकृयामा सहभागि हुने, निर्णयार्थ मतदान गर्ने तर मतदान आफ्नो पक्षमा नभए पछि परिणाम र विधि प्रकृया नमान्ने, गालीगलौज गर्ने, र माथिल्लो कमिटीमा भएकै आधारमा शक्तिको दुरुपयोग गरि आफै निर्णय गर्ने आफै टिकट प्राप्त गर्ने प्रकृया लोकतन्त्रको उपहास भएको ठहर गर्दै मैले उम्मेदवारी दिएको हुँ ।’ आफू माक्र्सवाद लेलिनवाद मान्ने असल कार्यकर्ता भएको भन्दै अन्यायको बिरोध गर्नु पर्छ र संघर्ष गर्नु पर्छ भन्ने मान्यता अनुसार धरातलीय यथार्थता, कार्यकर्ताको चाहना र कमिटीमा भएको मतदानको परिणाम विपरित स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले आफुखुसी टिकट प्राप्त गरेकाले आफुले उम्मेदवारी दिएको उनले बताए ।

स्थायी कमिटी सदस्य मण्डलको हार सुनिश्चित रहेकोले तत्काल उनलाई फिर्ता बोलाई आफ्नो उम्मेदवारीलाई आधिकारिकता प्रदान गर्न आग्रह गरिएको छ । मण्डलको दवावमा आफुमाथि कारवाहीको नाटक मञ्चन गरिएको भन्दै भ्रममा नपर्न पार्टी कार्यकर्ता , शुभ चिन्तक समर्थक र आममतदातामा खतिवडाले आग्रह गरेका छन् । आफू भ्रष्टाचार विरोधी, स्पष्ट दृष्टिकोण भएको र क्षेत्रको विकासीय खाका तयार गरि जनताको आवश्यकता पुरा गर्न सक्षम रहेकोले भन्दै खतिवडाले दावी गरेका छन् ।