• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वुद्धिजिविहरुको टिप्पणीः निधि र महतोको भिडन्त मधेसकैलागि दुर्भाग्य 

वुद्धिजिविहरुको टिप्पणीः निधि र महतोको भिडन्त मधेसकैलागि दुर्भाग्य 

चन्दन रौनियार, जनकपुरधाम, २१ कार्तिक । प्रदेश नम्वर २ को प्रस्तावित राजधानी धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीचको कडा प्रतिष्पर्धा हुने भएको छ ।

राष्ट्रिय राजनीतिमा स्थापित मधेसका दुई हस्ती निधि र महतो दुवै एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएपछि यो राष्ट्रिय चासोको विषय बनेको हो । निधि र महतो दुवै नेता देश र मधेसका लागि उत्तिकै महत्वपूर्ण भएकोले पार्टीबाट माथि उठेर हेर्दा आम नागरिकहरुमा कसलाई मत दिने भन्ने अन्योल छ । प्रथम र दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्वर ३ बाट जित हासिल गरेका निधि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई बलियो बनाउन र कम्युनिष्ट अधिनायकवादी व्यवस्था स्थापनाको दुष्प्रयासलाई रोक्न आफूले जित्नुपर्ने दावी गर्छन् ।

यता आफ्नो गृह जिल्ला सर्लाही छोडेर धनुषा आएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो निर्वाचन एउटा निर्वाचन मात्र नभएर मधेस आन्दोलनको उत्कर्ष भएको बताएका छन् । मधेसी जनताको चाहना अनुसार मधेसको राजधानी जनकपुर रहेको क्षेत्रबाट उम्मेदवारी दिएको बताउने महतो आफ्नो जित निश्चित रहेको दावी गर्छन् । यता देश र मधेसको लागि दुवै नेता उत्तिकै आवश्यक रहेको राजनीतिक विश्लेकहरुको तर्क छ ।

कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष राजेन्द्र महतो दुवै उत्तिकै महत्वपूर्ण मानिएकाले मधेस र देशको लागि एउटै क्षेत्रबाट निर्वाचनमा टकराव गर्नु दूर्भाग्यपूर्ण भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाको भनाइ छ ।  निधि र महतोको समर्थकका बीचमा हाल अमार्या्दित कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वस्थ्यकर राजनीतिक प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि कार्यकर्ताहरुले समाजिक सञ्जालमा गरिरहेको प्रचार–प्रसार शैली संस्कारविहीन भएको बुद्धिजिविहरुको टिप्पणी छ ।

क्षेत्र नम्वर ३ मा करिब १ लाख मतदाताधनुषाको क्षेत्र नं. ३ मा जनकपुर उप–महानगरपालिकाको १७ वटा वडा, नगराइन नगरपालिका, धनौजी र मुखियापट्टी मुसहरनियाको सम्पूर्ण वडाहरु पर्दछ । स्थानीय तहको निर्वाचनमा जनकपुर उप–महानगरपालिकामा राजपा नेपाल, नगराइन नगरपालिकामा नेपाली कांग्रेस, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा नेकपा एमाले र धनौजी गाउँपालिकामा राजपाका उम्मेदवारले जितेका थिए । यी चारवटै स्थानीय तहको कुल मतदाता जनसंख्या ९७ हजार ५ सय २ रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

तस्विरः घटना बिचार