चन्दन रौनियार सुनसरी, २० कार्तिक । सुनसरीका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएसँगै चुनावी चहल–पहल बढेको छ ।
निर्वाचन आयोगले आइतबार साँझ प्रत्यक्ष तर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी माहोल तातेको हो । विभिन्न पार्टीका उम्मेदवारहरु भोट माग्न घरदैलो र प्रचारप्रसारमा लागेपछि चुनावी माहोल बन्न थालेका छन् । सुनसरी जिल्लामा विभिन्न १६ दलका उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । यद्यपी मुख्य तीन दल बिच चुनावी प्रतिस्पर्धा हुने प्रारम्भिक आंकलन गरिन थालिएको छ ।
राजनीतिमा खेलाडी मानिएका प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट उप–प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएपछि चुनावी माहोल तातिन थालेको छ । यसैगरी पूर्व राज्यमन्त्री भगवती चौधरी र सिताराम मेहता समेत प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । सुनसरीमा दुई गठबन्धन र माओवादी गठबन्धन तथा मधेशी दलमा संघिय समाजवादी फोरम नेपाल बिचमा तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा पहिलो संविधानसभा निर्वाचनमा साविकको ६ क्षेत्रमा ३ क्षेत्र तत्कालीन मधेशी जनधिकार फोरमले जितेको र त्यसबेला नेपाली कांग्रेस सुनसरीमा शुन्य रहेको थियो । एमालले पनि ३ क्षेत्र जितेको थियो । दोस्रो संविधान सभा निर्वाचन २०७० मा २ वटा क्षेत्रमा फोरम, एक क्षेत्रमा कांग्रेस र ३ क्षेत्रमा एमालेले जितेको थियो । यो अवस्थामा स्थानीय तहको निर्वाचनको जनमत अनुसार यसपाली कांग्रेस बलियो देखिएको छ । जिल्लाको १२ वटा स्थानीय तहमा कांग्रेसले एक्लै ६ सिट र सोही पार्टीमा समाहित भएको नेपाल लोकतान्त्रिक फोरमले २ सिट सहित ८ वटामा जित निकालेर पहिलो बनेको छ । सुनसरीमा स्थानीय तहमा एमाले तेस्रो भएको छ । एमालले ३ तह र फोरम नेपालले १ तहमा जित्न सफल भएको छ । माओवादी केन्द्र भने २ ओटा वडामा सिमित वनेको छ ।