राजविराज, १९ कार्तिक । धादिङ्ग जिल्ला स्थित त्रिशुली नदीमा छोरा, बुहारी सहित परिवारका ६ जना सदस्य गुमाएका सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका–१ का पंडित रमानाथ झालाई सहयोग उपलब्ध गराईएको छ ।
तिलाठी कोइलाडि गाउँपालिका कार्यालयको तर्फबाट पीडित झा परिवारलाई ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराईएको हो । गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह र उपाध्यक्ष सुचिता यादवले आइतवार पंडित झाकै घर पुगेर चेक हस्तान्तरण गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर– १ तिलाठीका पंडित झा परिवारका ६ जनाको मृत्यु भएको थियो ।
उनका दुई छोराहरु ३८ वर्षिय संजित कुमार झा, ३३ वर्षिय अंजित कुमार झा, बुहारी ३५ वर्षिया सिम्मी कुमारी झा, नाती ९ वर्षिय अभिनव, र ३ वर्षिय प्रतिकको मृत्यु भएको छ । गत कार्तिक ११ गते विहान ना ६ ख १४६७ नम्वरको यात्रुवाहक बस दुर्घटना हुँदा सप्तरीबाट २६ जनाको मृत्यु भएको थियो ।