राजविराज, १९ कार्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीमा एक सय ५२ जना उम्मेदवार कायम भएको छ ।
सप्तरी जिल्लामा १ सय ६८ जना उम्मेदवारी दिएकामध्ये १६ जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली आइतवार सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्वर– १ मा १२, क्षेत्र नम्वर– २ मा १७, क्षेत्र नम्वर–३ मा १० र क्षेत्र नम्वर– ४ मा १३ गरी ५२ जनाको उम्मेदवार कायम भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको लागि उम्मेदवार भएका संघीय समाजवादी फोरम नेपाल र राजपा (नेपाल)को लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएका फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका पूर्व सह–महामन्त्री जयप्रकाश ठाकुरको उम्मेदवारी कायमै रहेको छ भने राजपाका महासचिव मनिष कुमार सुमनका विरुद्ध राजपाकै वागी उम्मेदवार लक्षमण यादवको उम्मेदवारी कायमै रहेको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाकोलागि राजपा र फोरमको गठबन्धनका उम्मेदवार चन्द्रनारायण चौधरीका विरुद्ध सुरेन्द्र यादवको उम्मेदवारी यथावत नै रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । आइतबार उम्मेदवारी फिर्ता लिनेमा नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएकी शोभा कुमारी देवले पार्टीको आधिकारीक रुपमा फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी प्रतिनीधि सदस्यमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार शम्भु झा, भीमराज यादव, मुनीलाल खङ्ग र सञ्जय चौधरी, प्रदेश सभाका उम्मेदवारहरु उमेश प्रसाद यादव, महेन्द्र प्रसाद चौधरी, उपेन्द्र साहलगायतले उम्मेवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृत हरिचन्द्र ढुगानाका अनुसार प्रदेशसभातर्फ क्षेत्र नं. १ को ‘क’ मा ९ र ‘ख’ ८ जना, क्षेत्र नं. २ को ‘क’ मा ११ र ‘ख’ मा १९ जनाको उम्मेदवारी कायम भएको छ ।
त्यस्तै, क्षेत्र नं. ३ को ‘क’ मा १७ र ‘ख’ मा १३ तथा क्षेत्र ४ को ‘क’ मा ११ र ‘ख’ मा १२ जना गरी प्रदेशसभातर्फ १ सय जनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरी आइतवारै चुनाव चिन्ह समेत दिएको छ । दलका उम्मेदवारले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको ढुङ्गानाले जनाएका छन् ।