राजविराज, १८ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई महिनापछि दुई नम्वर प्रदेश मधेश प्रदेशमा परिणत हुने बताएका छन् ।
सप्तरीको राजविराजमा शनिवार आयोजित वुद्धिजीवजीसँगको चुनाव लक्षित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता यादवले भने–‘मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई नम्वर प्रदेश मधेश प्रदेशमा परिणत हुन्छ ।’ वर्षोदेखि उत्पीडन र शोशनमा परेका मधेशी जनताको हक अधिकार र पहिचान सुनिश्चितताका लागि पनि प्रदेश नं. २ लाई मधेश प्रदेश कायम गर्न जरुरी रहेको बताए । ‘मधेशी जनताको हक अधिकार र पहिचान सुनिश्चितताका लागि प्रदेश नं. २ लाई मधेश प्रदेश कायम गर्न जरुरी छ’ उनले भने–‘मधेशी जनताकै पहिचान सुनिश्चितताका लागि पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पनि गठबन्धन गरेको छ ।’ उनले फोरम–राजपा गठबन्धन नै प्रदेश नं. २ मा पहिलो पार्टी बन्ने दावी समेत गरे ।
उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत पार्टीले संघर्षकै रुपमा लिएर अगाडी बढिरहेको बताए । ‘मधेशको मागलाई पूरा गराउनका लागि संघर्ष स्वरुप निर्वाचनमा सहभागी हुनु जरुरी थियो’ उनले भने–‘निर्वाचनबाट भाग्यो भने मधेशका बिरोधीहरु मधेशबाट जितेर जाने र अधिकारका लागि फेरि वर्षौसम्म संघर्ष र आन्दोलन गर्नुपर्छ, त्यसैले निर्वाचनबाटै मधेशीको माग सम्वोधन हुन्छ ।’कार्यक्रमका सहभागी निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष एव्म नेपाल मधेशी निजामति कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजयकुमार झाले एउटा राष्ट्रिय व्यक्तित्व मधेशी जनता र सप्तरीवासीको हकअधिकारीका लागि जिल्लाबाट उम्मेदवारी दिनु गाैरवमय कुरा रहेको बताए ।
मधेशी वुद्धिजीवी फोरम सप्तरीको आयोजना तथा पार्टीका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सुकदेव यादव, सुरेन्द्र प्रसाद यादव लगायतले मधेशको विकास र सम्वृद्धिका तथा मधेशी जनताको हक अधिकार बारे सोच्ने सफल नेतृत्वलाई चुन्नु आवश्यक रहेको बताए ।