काठमाण्डौ, १७ कार्तिक । त्रिशुली नदीमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचारमा सरकारले बेवास्ता गरेको पीडितहरुले गुनासो गरेका छन् ।
बस दुर्घटनामा ज्यान जोगाउने क्रममा घाइते भएकाहरुलाई सरकारले उपचार खर्च उपलब्ध नगराउँदै घाइतेहरु आफ्नै खर्चमा उपचार गराउन बाध्य भएका हुन् । गत कार्तिक १० गते ना ६ ख १४६७ नम्बरको ’सन्देश डिलक्स’ बस शनिबार विहान गजुरी गाउँपालिकाको वडा नम्वर–५ स्थित त्रिशुली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
बस दुर्घटनामा परी गम्भीर घाइते भएका सप्तरीको राजविराज निवासी दुर्गानन्द चौधरी र उनका छोरा अभिशेकको काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको छ । त्रिशुलीमा बस खस्दा सिसा फोडी पानीमा पौडेर ज्याउन सफल बाबु र छोरालाइ एम्बुलेन्समा राखेर उपचारकालागि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
टाउँको तथा हात खुट्टामा चोटपटक तथा सिसाले ठाउँठाउँमा काटिएका उनीहरुलाई सरकारले हालसम्म उपचार खर्चसम्म उपलब्ध गराएको छैन । उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको छ तर अस्पतालको बिल कसले तिर्ने भनी चिन्ताले सताएको छ । ‘हामीलाई अहिलेसम्म सरकारकातर्फबाट कुनै पनि सहयोग भएको छैन, आफ्नै खर्चमा उपचार गराउँदैआएको छु’ दुर्गानन्दले भने ‘यो देशमा जनताकालागि सरकार छ कि छैन जस्तो अनुभूती भईरहेको छ ।’
सप्तरी जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहिसकेका अधिवक्ता चौधरीले बिपतको बेलामा पनि सरकार जनताप्रतिको जिम्मेवारी नबुझेको भनी गुनासो गरे । अस्पतालले सम्पूर्ण खर्च बेहोर्नुपर्छ भन्दैआएकोले उक्त खर्च कहाँबाट जुटाउने ? भनी चिन्ताले सताएको उनले बताए । निको नभईकनै अस्पतालले डिस्चार्ज गर्न खोजिरहेको जानकारी दिँदै उनले भने ‘राम्रोसँग उपचार नगराईकनै घर फर्किन मैले मानेको छैन ।’
हालसम्म आफुहरुलाई हेर्न बस धनीसम्म नआएको उनले गुनासो गरे । छेउकै बेडमा उपचार गराईरहेका छोरातर्फ इशारा गर्दै उनले छोरा अभिशेकको स्वास्थ्य स्थितिमा समेत सुधार आउँदैगएको घाइते दुर्गानन्दले बताए । उपचारमा लागेको खर्च सरकारले उपलब्ध गराउने छाँटकाँट समेत नदेखिएकोले काठमाण्डौमा रहेका आफन्तजनसँग सरसापटी गरेर भए पनि एक दुई दिनमै घर फर्किने उनले जानकारी दिए ।