राजविराज, १६ कार्तिक । मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा विहिवार दलका उम्मेद्वारहरुको उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
विहान १० वजेदेखि सुरु भएको उम्मेदवारी दर्तामा दलका कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थिति भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन, संघीय समाजवादी फोरम नेपाल–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धन, नेपाली कांग्रेससहित नयाँ शक्ति नेपाल तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि दलहरु दलवलसहित उम्मेद्वारहरु आएका थिए ।
वाजागाजासहित विभिन्न पोशाकमा सजिएका कार्यकर्ताले पार्टीको नारावाजी पनि गरेका थिए । सप्तरीमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ वटा क्षेत्रमा हुने निर्वाचनका लागि दलले उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले बताए ।
निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि नेपाली कांग्रेसका रामदेव साहले उम्मेदवारी दर्ता गराएका छन् भने वाम गठवन्धनका तर्फवाट अशोक कुमार मण्डल), संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट डा. सुर्यनारायण यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १(क) मा कांग्रेसका डा. सुवोध पोखरेल, वाम गठवन्धनका सत्यनारायण मण्डल, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धन, राजकुमार लेखी, तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(ख)मा कांग्रेसका वद्रि महात्मान, वाम गठवन्धनका मो. सकिल अलि, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट नवलकिशोर साहको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका सकलदेव सुतिहार, वाम गठवन्धनका उमेश यादव, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।
सोहि क्षेत्र वाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिवारीले पनि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा २(क) मा कांग्रेसका महानन्द यादव, वाम गठवन्धनका सरोज मण्डल, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट शैलेन्द्र साह तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. २(ख)मा कांग्रेसका रञ्जित कर्ण, वाम गठवन्धनका महेश यादव, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनवाट मनिष सुमनको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसका दिनेश यादव, वाम गठवन्धनका ताराकान्त चौधरी, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धन,वाट चन्द्रकान्त चौधरीको मनोनयन दर्ता भएको छ ।
प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३(क)मा कांग्रेसका मो समिम, वाम गठवन्धनका अब्दुल मजिद साकिर, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका दिनेश यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ३(ख)मा कांग्रेसका भगवती यादव, वाम गठवन्धनका महेश चौधरी, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका विदेश्वर यादव विक्किको उम्मेदवारी परेको छ । यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा कांग्रेसका तेजुलाल चौधरी, वाम गठवन्धनका मो. ईस्लाम, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धन,वाट मृगेन्द्रकुमार सिंह यादवको मनोनयन दर्ता भएको छ ।
सोहि क्षेत्रवाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माक्र्सवादीवाट मकुन चौधकरीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ४(क)मा कांग्रेसका सिताराम साह, वाम गठवन्धनका गोविन्द्रकुमार न्यौपाने, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका अभिषेक यादव तथा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. ४(ख)मा कांग्रेसका विवेकानन्द झा, वाम गठवन्धनका शशिकुमार यादव, संघिय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका विनोद चौधरीको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीमा निर्वाचन क्षेत्र नम्वर १ मा ९४ हजार ९ सय २०, क्षेत्र नं. २ मा ७९ हजार ६ सय ६३, क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ र क्षेत्र नं. ४ मा ८६ हजार ५ सय ४२ गरी कुल ३ लाख ४६ हजार २ सय १४ मतदाता छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीमाा २ सय ९५ मतदान स्थलमा ४ सय ७८ वटा मतदान केन्द्र कायम गरिएको छ ।

