राजविराज, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सह महामन्त्री जय प्रकाश ठाकुरले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । मंगलबार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालबीच भएको क्षेत्रको बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सह महामन्त्री ठाकुरले पार्टी परित्याग गरेका हुन् ।
मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दुवै पार्टीबीच क्षेत्र बाँडफाँटको सूची सार्वजनिक गरेलगत्तै उनले पार्टी पारित्याग गरी स्वतन्त्र उम्मेदवारीको घोषणा समेत गरेका छन् ।
राजविराज स्थित गजेन्द्र चौक हाताभित्र आयोजित कार्यक्रममा राजपा सह महामन्त्री ठाकुरले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । विगत चार दिनदेखि आमरण अनसन बसेका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवको अनसन स्थल पुगेका सह महामन्त्री ठाकुरले पार्टी पुराना र निष्ठावान कार्यकर्तालाई मुल्याङकन नगरी व्यक्तिवादी सिद्धान्तमा गईरहेको आरोप लगाउँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरे । साविकको तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री भई ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए ।
राजपा र फोरमबीच भएको क्षेत्र बाँडफाँटअनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र २(क) प्रदेशसभामा फोरम र २(ख) प्रदेशसभामा राजपाले उम्मेदवार दिने सहमति भएको छ । फोरम नेताहरुका अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेशसभा अन्तर्गत २(क) बाट फोरमका शैलेन्द्रप्रसाद साह तथा २(ख) बाट राजपा महासचिव मनिषकुमार सुमन चुनाव लड्ने तय भएको छ ।