• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धादिङ्गको बस दुर्घटनाप्रति प्रजिअ सहित विभिन्न संस्थाद्वारा दुःख व्यक्त

धादिङ्गको बस दुर्घटनाप्रति प्रजिअ सहित विभिन्न संस्थाद्वारा दुःख व्यक्त

राजविराज, १२ कार्तिक । धादिङको गजुरी स्थित त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति जिल्ला प्रशासन कार्यालय सप्तरीले दुःख व्यक्त गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयद्वारा आईतवार जारी गरिएको विज्ञप्तिमा राजविराजबाट काठमाण्डौ गईरहेको ना६ख १४६७ नम्वरको यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको घटनाले आफुलाई मर्माहित तुल्याएको जनाएका छन् । दुर्घटनामा परी असामायिक निधन भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ ‘छिन्नमस्ता भगवतीले यस कठिन घडीमा शोक सन्तप्त परिवारमा धैर्यधारण गर्न शक्ति प्रदान गरुन भनि प्रार्थना गर्दछु ।’

यसैगरी निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति सप्तरीले समेत  संयुक्त प्रेस विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् । समितिका अध्यक्ष अजय कुमार झा र सचिव छोटेलाल यादवद्वारा आइतवार संयुक्त रुपमा जारी गरिएको विज्ञिप्तिमा शोक सन्तप्त परिवारहरुमा धैर्य धारण गर्न ईश्वरसँग प्रार्थना गर्दै दुर्घटनाका घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ । शोकाकुल परिवारजनलाई उचित क्षतिपूर्ति तथा घाईतेहरुको निःशुल्क स्वास्थ्य उपचारको लागि नेपाल सरकारसँग विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।

यसैगरी जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले समेत प्रेस विज्ञप्ति जारी गर्दै अधिकांश यात्रीहरुको अकाल मृत्यु, केही वेपता र केहि घाइते भएको घटनाले आफुहरुलाई मर्माहत तुल्याएको जनाएका छन् । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दै वेपताहरुको अविलम्ब खोजी तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना अध्यक्ष गोइतले गरेका छन् ।

महिला बालबालिका तथा युवा सशक्तिकरण नेपाल राजविराज, सप्तरीले समेत घटना प्रति मर्माहत भएको विज्ञप्तिमार्फत जनाइएको छ । संस्थाका अध्यक्ष वौवालाल यादवले आइतवार जारी गरेको विज्ञप्तिमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न ईश्वरसँग प्रार्थना गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा शोकाकुल परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार र घटनाका दोषीलाई कडा कार्वाहीकोलागि सम्वन्धित पक्षसँग आग्रह समेत गरिएको छ ।

नेपाली काँग्रेस नगर कार्य समिति राजविराजले पनि घटनामा असमायिक निधन भएकाहरुको आत्माको चिरशान्तिको कामना गरेको छ । समितीका सचिव शत्रुधन प्रसाद साहले आइतवार जारी गरेको विज्ञप्तिमा शोकाकुल परिवारमा धैर्य धारणको कामना गर्दै दुर्घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।   यसैगरी अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालका अध्यक्ष करुणा झाले समेत त्रिशुली नदीमा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको समेत उनले कामना गरेकी छिन् ।

यसैबीच कृष्णा सवरण गाउँपालिकाका कार्यकारी अधिकृत राजिव कुमार झाले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको वडा नम्वर–४ निवासी सुधिरा कुमारी यादव र उनकी पाँच वषिया छोरीसहित ३१ जना यात्रुको निधन एवम् १६ जना घाइते भएकाहरुको घटनाले स्तब्ध एवम् मर्माहत भएको जनाएका छन् । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदनासहित घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको समेत उनले कामना गरेका छन् ।

यस्तै नेपाल शिक्षक महासंघ सप्तरीका सचिव सुरेन्द्र प्रसाद यादवले समेत बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सोमवार सप्तरी जिल्लाका विद्यालयहरुमा उपस्थित भई शोक मनाउने निर्णय समेत गरेको जनाएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले समेत धादिङमा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले उक्त दुःखद घटनाले जिल्ला प्रहरी कार्यालय सप्तरी परिवार मर्माहत भएको भन्दै मृतहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ सहित शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गरेका छन् ।