राजविराज, ९ कार्तिक । विगतका वर्षहरु झैं यो वर्ष समेत सप्तरी जिल्लाको विभिन्न स्थानहरुमा छठ पर्व मनाइदैछ ।
सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन लागिएको हो । विहीवार साँझ अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यो पर्व सम्पन्न हुनेछ । सप्तरी जिल्लाको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा यो पर्व भव्यताका साथ मनाइँदैछ । सहर–बजारदेखि ग्रामिण भेगसम्म विशेष महत्वका साथ यो पर्व मनाईन्छ ।
जिल्लाको भारदह स्थित कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहितका स्थानहरुबाट छठ मनाउन सयौंको संख्यामा ब्रतालुहरु आउने क्रम बढेको लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन कुमार मण्डल ‘पप्पु’ले जानकारी दिएका छन् । विगतका वर्षहरुमा जारी मधेश आन्दोलनका कारण उत्साहमा कमी आए पनि छठ मनाउनेहरुको संख्यामा व्यापक बृद्धि भएको छ ।
कोशी व्यारेजमा अस्ताउँदो र उदाउँदो सूर्यलाई प्रष्ट रुपमा हेर्न सकिने तथा ठाउँ पनि अति मनोरम भएकोले नेपालको विभिन्न जिल्ला तथा भारतको सुपौल, मधुवनीलगायतका जिल्लाहरुका समेत छठ मनाउन तथा हेर्नका लागि प्रत्येक वर्ष आउने गरेको स्थानीयवासिन्दा समेत रहेका पत्रकार रामनारायण विश्वासले जानकारी दिएका छन् । उनका अनुसार कोशी किनारमा कलात्मक रुपमा घाटहरुलाई दुलही झैं सिंगारिएको छ ।
यता राजविराजस्थित भगवती, वैष्णवी काली, तुरुन्तीलगायतका पोखरीहरुमा छठ पूजाकालागि घाटहरु निर्माण गरि आकर्षक ढङ्गले सजाईएको छ । छठ पूजालाई व्यवस्थित गर्न तथा कुनै अप्रिय घट्ना हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली विभिन्न घाटहरुमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । गाउँहरुमा रहेका पोखरीहरुमा केराको बोट, अशोकको हाँगा, बाँसलगायतका स्थानीय सामग्रीहरुबाट कलात्मक घाट बनाएर छठ मनाउन लागिएको छ । उक्त अवसरमा गाउँहरुमा नाच–तमासा, नाटक, छोक्कडबाजीसहित सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।
कात्तिक शुक्लपक्षको चौथी तिथिबाट नहाइ–खायबाट शुरु भई विहीवार साँझ अस्ताउँदो सूर्य तथा शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व विधिवत रुपमा यो पर्व मनाउन लागिएको हो । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाइ खाइ भन्ने गरिएको छ । यो दिनमा ब्रतालुहरुले खोला–नाला, नदी, पोखरी, तलाव लगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । ब्रतालुले भोजनमा माछा–मासु, लसुन, प्याज र कोदो जस्ता वस्तु परित्याग गरी ब्रत बस्ने गर्छन् ।
पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझ पख नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुल्होमा प्रसादको रुपमा सख्खर मिलाएर खीर बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई प्रसादको रुपमा ग्रहण गर्छन् ।
यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहेको छ । षष्ठी अर्थात तेश्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न गुलियो खाद्य साम्रगी बनाईन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउने गरिन्छ । छठी मातालाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, पेरुकिया, भोगटे, नरिवल, केरा, मुला, सुथनी, ऊखुलगायतका सामग्रीहरु चढाइन्छ । विगतका वर्षभन्दा यो वर्ष समेत हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । यो पर्व सन्तानको सुख समृद्धि तथा रोग व्याधीबाट बच्नकालागि गरिने परम्परा रहेको पं. राजिव झाले बताए ।