राजविराज, ८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई कसैले रोक्न खोजे ठूलो अपराध हुने बताएका छन् ।
जिल्लाको सुरक्षा अवस्था र चुनावको तयारीबारे बुधवार आयोजित अन्तरक्रिया एवम् परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । राजनीतिक दलका प्रतिनिधी, निर्वाचन अधिकृत, सुरक्षा अधिकारी, सञ्चारकर्मीसहित सरोकारवालासँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले भने ‘आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई कसैले रोक्न खोजे ठूलो अपराध हुन्छ, निर्वाचनलाई सेलिब्रेसनको रुपमा लिएर अघि बढ्नुपर्छ ।’ निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेर निर्वाचन आयोग अगाडि बढिसकेकोले शंका नगर्न समेत प्रमुख आयुक्त यादवले बताए ।
यस अघि सम्पन्न तेस्रो चरणको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले व्यापक आचारसंहिता उल्लंघन गरेको बताउँदै उनले भने ‘अरु बेला गरिब जनतालाई गम्छासम्म पनि नदिने राजनीतिक दलका नेताहरुले निर्वाचनका बेला चुनाव चिन्ह अंकित भेष्ट, गम्छा आदि लुगा वितरण गरेको पाइएकोले यस्ता कार्य नदोहोर्याउन आग्रह छ, यदि यस्ता कार्य दोहोरियो भने दल र उम्मेदवार दुवैलाई कार्वाही हुन्छ ।’ पत्रकार र पर्यवेक्षकहरुले समेत दिउँसो आफ्नो ड्युटी गर्ने तर, राती दलको प्रचार–प्रसारमा खट्ने गरेको टिप्पणी गर्दै गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी बुझेर आचारसंहिता पालना गर्न उनले आग्रह गरे ।
आफू मधेसी मूलको यादव भए पनि राष्ट्रसेवक भए पनि राष्ट्रसेवक भएकोले आचारसंहिता पालना गराउने सवालमा सबैलाई समान दृष्टिले हेर्ने गरेको बताउँदै प्रमुख आयुक्त यादवले भने ‘आचारसंहिता उल्लंघन गर्न सबैमा विनम्रतापूर्वक आग्रह छ, यदी उल्लंघन गरेको पाईएमा त्यत्तिबेला मधेसी वा यादव हो भनेर कसैले केहि नभन्नुहोला, कसैले उन्मुक्ति पाउँदैन ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि भइरहेको आवश्यक तयारीबारे जानकारी गराएका छन् । सोही कार्यक्रममा कांग्रेस जिल्ला सभापति दिनेश यादव, नेकपा एमालेका सुखराम यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरि प्रसाद भट्टराई, जिल्ला अध्यक्ष जितेन्द्र खड्गा, पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार नविन कुमार गुप्तालगायतले सुझाव दिए । प्रमुख निर्वाचन अधिकृत हरिश्चन्द्र घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन अधिकृतहरु महेन्द्र प्रसाद भट्टराई, भोजराज रेग्मी, सानुभाइ केसी, प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाआधार यादव, भीम दल गणका मेजर रमेश कुमार बञ्जारा, निर्वाचन अधिकृत दिलिप कुमार यादव, श्रेस्तेदार वीर कुृमार बर्देवासमेतको उपस्थिति थियो ।