• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सूर्यलाई अर्घ दिएर छठ पर्व मनाईदैछ छठ पर्व

राजविराज, ८ कार्तिक । मधेशका जिल्लाहरुमा अपार श्रद्धा भक्तिकासाथ मनाईने छठ पर्वको दोस्रो दिन बुधबार खरना गरिएको छ ।

छठ पर्वको पूर्व सन्ध्यामा ‘खरना’मा सख्खर र अरुवा चामलको खीर, फलफूलका साथै अरुवा चामलको रोटी (सोहारी) बनाएर छठी मातालाई चढाईन्छ । यस अघि ब्रतालुहरुले मङ्गलवार नुहाएर चोखो अर्थात अरबा–अरबाइन खाएका थिए । विहीवार बेलुका अस्ताउँदो सुर्य र शुक्रवार विहान उदाउँदो सुर्यलाई ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको अराधना गर्दै अर्घ दिएर यो पर्व समापन हुनेछ ।

सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एंव चर्मरोग निको हुने जनविश्वास रहेको छ । यस पर्वलाई सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको कारण मनाउनेहरुको संख्यामा दिनप्रति दिन बढ्दै गएको छ ।मिथिलाञ्चलसहित केही सिमित क्षेत्रहरुमा मनाईदैआएको यो पर्व विस्तारित हुँदै पहाडका राजधानी काठमाण्डौका साथै पहाडी जिल्लाहरुमा समेत मनाउन थालिएको छ ।

यस पर्वमा गहँुको तथा चामलको पीठोबाट ठकुवा, भुसवा, पेरुकिया, खजुरिया आदि परिकारहरु बनाईन्छ । यस अतिरिक्त सुथनी, कसार, केरा, उखु, नरिवल, स्याउ, सुन्तलासहित विभिन्न किसिमका वनस्पति समेत पूजामा राखिने गरिन्छ ।सप्तरीको कोशी व्यारेज, सदरमुकाम राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, तुरुन्ती पोखरी, वैष्णवी काली मन्दिरलगायतका पोखरीहरुमा घाट निर्माण गरिएको छ । यसैगरी जिल्लाको ग्रामिण भेगमा समेत छठ मनाउनकालागि पोखरी तथा तलावहरुमा समेत सरसफाईका साथै घाट निर्माण गरिएको छ ।